कन्चन यादव
काठमाडौं, २० साउन । सरकारले हाल बहुविवाहलाई वैधानिकता दिने कानुनको मस्यौदा तयार गरिरहेको कार्यप्रति नायिका केकी अधिकारीले आपत्ति जनाएकी छिन् ।
मस्यौदामा विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध राख्दा ती महिला गर्भवती भए वा सन्तान जन्मिए उक्त सम्बन्धलाई स्वतः वैधानिक ठहरिने व्यवस्था प्रस्ताव गरिएको छ । उक्त प्रावधानलाई लिएर अभिनेत्री केकी अधिकारीले तीव्र आपत्ति जनाउँदै सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।
उनले लेखेकी छिन्, “यस्तो कानुनी प्रस्ताव आममहिलाका लागि अपमान हो । कानुनी संरक्षणमा पुरुषलाई सामाजिक अपराध गर्न छुट दिने प्रावधान हो । बहुविवाहलाई वैध बनाउने प्रयास समाजलाई पछाडि फर्काउने दुस्साहस हो, जुन हुनु हुँदैन ।”
सामाजिक सञ्जालमा अधिकारीको उक्त अभिव्यक्तिपछि बहुविवाह वैधीकरणको विषयलाई लिएर कलाकर्मीहरुमाझ बहस सुरु भएको छ । धेरै प्रयोगकर्ताहरूले यो प्रस्तावलाई महिला अधिकार र समानतामा प्रहार भएको भन्दै आलोचना गरेका छन् ।
महिला अधिकारकर्मीहरूले बहुविवाह रोक्न बनेको कानुनलाई कमजोर पार्ने कुनै पनि प्रावधानलाई अस्वीकार गर्ने चेतावनी दिँदै चौतर्फी आलोचना तथा विरोध हुन थालेको छ ।
