राजविराज , २१ साउन । सप्तरीको राजगढ गाउँपालिकामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि सदरमुकाम राजविराज तनावग्रस्त बनेको छ।
मृतकका आफन्त तथा गाउँलेले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बाल्दै आक्रोश प्रकट गरेका छन्। उनीहरूले प्रहरीविरुद्ध नाराबाजी गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।
घटना राजगढ गाउँपालिका–२ मा मध्यराततिर भएको हो। मदिरा भारततर्फ तस्करी भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि स्थानीयले ढुंगामुडा गरेपछि प्रहरीले गोली प्रहार गरेको बताइएको छ।
प्रहरीको गोली लागी गम्भीर घाइते भएका करिब ३७ वर्षीय लालु यादवलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज ल्याइएपछि उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। घटनापछि राजविराजकाे सुरक्षा व्यवस्था कडा पारिएको छ।