काठमाडौं, ४ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतबाट हालै जारी गरिएको गौर घटनासम्बन्धी आदेशप्रति सम्मान रहेको जनाएको छ।
पार्टी प्रवक्ता मनिष सुमनले मंगलबार विज्ञप्ति जारी गर्दै सो आदेशलाई लिएर विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। विज्ञप्तिमा भनिएको छ, सर्वोच्च अदालतको आदेशको पूर्णपाठ सार्वजनिक नहुँदै अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गरेर सम्प्रेषित समाचार पूर्वाग्रही र भ्रामक देखिएको छ। जसपाले यस्तो गतिविधि सस्तो लोकप्रियताका लागि गरिएको भन्दै भर्त्सना गरेको छ।
प्रवक्ता सुमनले अध्यक्ष यादव र जसपा नेपाल अदालतको आदेशप्रति सधैं सहयोगी रहँदै आएको स्पष्ट पार्दै, केही सञ्चारमाध्यममार्फत पार्टीलाई राजनीतिक प्रतिशोधको निशाना बनाउने दुष्प्रयास भइरहेको आरोप लगाए। उनले पार्टीका नेता तथा कार्यकर्तालाई अपुष्ट समाचारमा विश्वास नगर्न र अदालतको आदेशविपरीत कुनै गतिविधि नगर्न आग्रह गरेका छन्।
जसपाले २०६३ सालको गौर घटनाबारे तत्कालीन सरकारले उच्चस्तरीय न्यायिक समिति गठन गरी सत्य–तथ्य अभिलेखीकरण गरिसकेको, राष्ट्रिय मानव अधिकार आयोग र संयुक्त राष्ट्रसंघीय मिसनले समेत प्रतिवेदन सार्वजनिक गरिसकेको उल्लेख गर्दै, राजनीतिक विषयको समाधान राजनीतिक बाटोमै खोजिनुपर्ने धारणा राखेको छ। पार्टीले अदालतको आदेशअनुसार निष्पक्ष अनुसन्धान भए पनि त्यसले नयाँ अवस्था सिर्जना नगर्ने स्पष्ट पारेको छ।
