सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक : गौर घटनामा निष्पक्ष छानबिनको माग, रूपन्देही–३ मा रेशम चौधरी उम्मेदवार

काठमाडौँ, ४ भदौ । सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बुधबार काठमाडौँ थापागाउँस्थित जनता प्रगतिशील पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।

बैठकको अध्यक्षता पार्टी अध्यक्ष हृदयेश त्रिपाठीले गर्नुभएको थियो। बैठकले गौर घटनाबारे सर्वोच्च अदालतको हालैको परमादेशमा ध्यानाकर्षण गर्दै निष्पक्ष छानबीनको माग गरेको छ भने रूपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई उम्मेदवार बनाउने निर्णयलाई पनि पुनः पुष्टि गरेको छ।

मोर्चाले २०६३ साल चैत्र ७ गते रौतहटको गौरमा भएको घटनाबारे सर्वोच्च अदालतले भाद्र २ गते दिएको परमादेशको पूर्ण पाठ सार्वजनिक नभइसकेको भए पनि यदि छानबीन वा अनुसन्धान सफा नियत, तटस्थता, कानूनी दायराभित्र र सम्बन्धित सबैलाई समेटेर हुने हो भने त्यसप्रति कसैलाई आपत्ति नहुने स्पष्ट पारेको छ। तर, हाल भइरहेको एकपक्षीय प्रचार–प्रसार, तथ्य तोडमोड र व्यक्तिविशेषलाई लक्षित दुष्प्रचारलाई राजनीतिक प्रतिशोधको मानसिकता भएको भन्दै मोर्चाले आपत्ति जनाएको छ।

मोर्चाले गौर घटनापछि सरकारले गठन गरेका ललितपुर पुनरावेदन अदालतका न्यायाधीश हरिप्रसाद घिमिरे र सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश खिलराज रेग्मी नेतृत्वका छानबीन आयोगका प्रतिवेदन अझैसम्म सार्वजनिक नभएको तथ्य औँल्याएको छ। त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगले तीन वर्षअघि प्रस्तुत गरेको प्रतिवेदनमा घटनाका कारण, अवस्थाको सिर्जना, जिम्मेवार निकायहरूको भूमिका र हिंसात्मक आक्रमण कसले सुरु गरेको भन्ने विषयमा स्पष्ट विवरण दिएको स्मरण गराउँदै त्यसलाई आधार मानेर निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिएको छ। राजनीतिक पूर्वाग्रहमा आधारित कुनै पनि कारबाहीलाई मोर्चाले प्रतिकार गर्ने चेतावनी दिएको छ।

बैठकले यसैगरी रूपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनका लागि साविककै निर्णयलाई पुनः दोहोर्‍याउँदै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई उम्मेदवार बनाउने जिम्मेवारी दिएको छ। निर्वाचन प्रचार–प्रसार र परिचालनका लागि मोर्चा सचिवालयलाई विशेष जिम्मेवारी दिइएको मोर्चाले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस