राजविराज, ५ भदौ । नयाँ पत्रिका दैनिकका सप्तरी सम्वाददाता सौरभ यादवमाथि भएको सांघातिक आक्रमणमा संलग्न मध्येका एक जनालाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ ।
घटनामा संलग्नमध्येका राजविराज नगरपालिका वडा नम्बर–१ का राजु यादवलाई सप्तरी जिल्ला अदालतले अनुसन्धान गर्न उनलाई पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरी निरीक्षक प्रमोद कुमार साहका अनुसार अदालतबाट बुधबार म्याद थप गरिएको हो । यसअघि आइतवार समेत उनलाई अनुसन्धान गर्न पाँच दिन म्याद लिईएको थियो ।
घटनामा संलग्न भएको आरोप लागेका छिन्नमस्ता गाउँपालिका–१ का कृष्णनाथ यादव (क्याप्टेन) र विष्णुपुर गाउँपालिका–७ का राजबाबु झा भने अझै फरार छन् । प्रहरीले उनीहरूलाई पक्राउ गर्न खोजी कार्य जारी राखेको छ ।
पत्रकार सौरभ यादवमाथि शुक्रबार बिहान राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको दक्षिण गेट अगाडि तीन जनाको समूहले आक्रमण गरेको थियो। आक्रमणकारीले चाकु, बेल्ट र हेलमेट प्रहार गरेका थिए । आक्रमणमा परि भएका उनलाई हात तथा टाउकोमा चोट लागेको थियो ।