काठमाडौं, २५ भदौ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले जेन–जि युवापुस्ताले सञ्चालन गरेको आन्दोलनलाई नेपालको इतिहासमै ऐतिहासिक सफलता भएको भन्दै शुभकामना व्यक्त गरेको छ ।
जसपाले आज एक विज्ञप्ति जारी गरी सुशासन, भ्रष्टाचार नियन्त्रण, न्याय र परिवर्तनका लागि गरिएको आन्दोलन विजयी भएको उल्लेख गर्दै आन्दोलनकारी युवापुस्तालाई बधाई तथा शुभकामना दिएको छ ।
जसपाका प्रवक्ता मनिष कुमार सुमनले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा जीवन गुमाउने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । पार्टीले आन्दोलनबाट उत्पन्न भएको उपलब्धिलाई स्थायित्व दिलाउन संवैधानिक, लोकतान्त्रिक र सामाजिक न्यायका मूल्य र मान्यतालाई थप संस्थागत गर्दै लैजान आवश्यक रहेको उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “समानता, लोकतन्त्र, गणतन्त्र, संविधान, समावेशिता, नागरिक स्वतन्त्रता, सामाजिक न्याय र मौलिक हकजस्ता ऐतिहासिक उपलब्धिलाई संरक्षण गर्दै थप उपलब्धिका लागि निरन्तर प्रयास रहनु पर्दछ । कुनै पनि बालबालिका, वृद्धवृद्धा तथा प्रतिवन्धकारी समुदायको चासोमा कमी आउन नदिने गरी विशेष ध्यान पुर्याउन आवश्यक छ।”
पार्टीले आन्दोलनपश्चात परिवर्तनकारी युवाहरुलाई समावेश गरेर तत्काल अन्तरिम सरकार गठन गर्न र मुलुकलाई सहज निकास दिन आवश्यक रहेको स्पष्ट पारेको छ ।
जसपाले अहिलेको विषयगत परिस्थिति संवेदनशील भएको भन्दै धैर्यतापूर्वक वार्ता, संवाद र समन्वयका माध्यमबाट शान्ति, कानूनको शासन, सहिष्णुता र आपसी समझदारी कायम गर्न सबै पक्षलाई सहयोग र सक्रिय योगदान दिन आह्वान गरेको छ ।