कन्चन कुमारी यादव
कालो सडकभरि धुलैधुलो थियो,
तर, आँखाभित्र सपनाको उज्यालो थियो
नेपाल आमा भन्दै अघि बढेको पाइला
अति सहँदासहँदै उत्तेजित मेरा स्वर
भ्रष्टको गोलीमा रोकिनु पर्नेरहेछ ।
आमा, तिम्रो काखको माया अझैं तातो छ,
तर, मेरो रगतले शहरको बाटो रङ्गिएको छ
चिताको उज्यालोमा,
न्यायको ज्वाला भड्किनेछ
परिवर्तनका पर्दाहरु उघार्दै जानेछ।
निर्दयी सत्ताले,
‘केटाकेटी’ भनी मेरो स्वर दबाउन खोजे पनि,
लाखौं क्रान्तिबीज अङ्कुरित हुनेछ
मेरो मौनताले बोल्ने आवाजले
हजारौं युवाको मुटुमा साहस धडकिनेछ ।
तिमी, भ्रष्ट शासक,
सुन, रगत कहिल्यै चुप रहँदैन,
खुकुरी बनेर नसमेटिने आँधी हुनेछ
आज मेरो प्रश्नलाई गोलीले रोके पनि,
भोली लाखौँ प्रश्नले तिम्रो सिंहासन भत्काउनेछन् ।
आमा, मेरो लागि नरोऊ,
किनकि तिम्रो आँसु होइन,
मेरो बलिदानले भविष्य लेखिनेछ
मेरो सपना मसँगै चितामा जलेको छैन,
हरेक हातमा चन्द्र–सूर्य झण्डा फर्फराएको छ ।
जेनजीको रगतबाट उम्रिएका फूलहरूले
भ्रष्ट, दलाल र ठगहरुको समूल नष्ट गर्दै
नयाँ इतिहास लेख्नेछन्,
यी फूलहरूले सन्देश बोकेका छन्
परिवर्तनको आशा कहिल्यै नमर्ने प्रमाण ।
जहाँ न त गोली बोल्छ,
न त भ्रष्ट शासन चल्छ,
केवल न्याय, समानता र सुशासन।
काला रात चिर्दै स्वर्णिम लालीम्य देखिनेछ
सम्भावनाका बाटाहरु खोलिनेछन् ।
त्यो परिवर्तनमा,
भावी सन्तती देशभक्त र स्वाभिमानी हुनेछन्
मिहिनेतको पसिनामा समृद्धि फुल्नेछ,
शासक होइन, विवेकी सेवक हुनेछन्
त्यो दिन मेरो रगतले न्याय पाउनेछ,
र, जनताका ओठहरुमा मुस्कान बनेर फर्किनेछ ।
[email protected]
अध्ययनरतः प्रशासन सङ्काय, सातौं सेमेस्टर, जनप्रशासन क्याम्पस, बल्खु