अझै पक्राउ परेन कारागारबाट भागेका असईको हत्या गर्ने प्रहरी जवान

राजविराज । सप्तरीको राजविराज कारागारबाट भागेका जन्मकैद सजाय भोगिरहेका सशस्त्र प्रहरी जवान होमबहादुर खत्री अझै पक्राउ परेका छैनन्।

भदौ २५ गते जेन-जी आन्दोलन का क्रममा कारागारभित्र आगजनी भएपछि खत्रीसहित करिब दुई सय पाँच कैदीबन्दी फरार भएका थिए। तीमध्ये एक सय तीन जना पुनः पक्राउ परिसके पनि प्रहरी असई सत्यनारायण यादवको हत्या अभियुक्त खत्री भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।

सिरहाको भगवानपुर गाउँपालिका–२ नरहाका ४५ वर्षीय यादवको हत्या २०७९ असोज १९ गते भएको थियो। बोर्डर आउट पोष्ट (बीओपी) मोहनपुरमा कार्यरत असई यादवलाई विवादका क्रममा खत्रीले धकेलेपछि टाउकोमा चोट लागेको थियो। त्यसपछि घाँटी थिचेर हत्या गरिएको प्रहरीले जनाएको छ।

हत्या गरिएको भोलिपल्ट असोज २० गते यादवको शव नेपाल–भारत सीमा नजिकै बिहार राज्यको मधुबनीस्थित जिरोगा पुनर्वास क्षेत्रको खोलामा फेला परेको थियो। शव खत्रीले घिसार्दै खोलामा फालेको प्रमाण भेटिएपछि उनलाई असोज २६ गते पक्राउ गरिएको थियो।

सप्तरी जिल्ला अदालतका न्यायाधीश नविनकुमार जोशीको इजलासले २०७९ फागुन ८ गते खत्रीलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–२ निवासी खत्री हालसम्म पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

Author:



क्याटोगरी छान्‍नुहोस