राजविराजकाे हिन्दु–मुस्लिम विवाद सहमतिमा समाधान

राजविराज । राजविराज नगरपालिका वडा नम्बर २, स्थित गुलाब ग्यारेज अगाडिको जग्गा विवाद समाधान भएको छ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले यसअघि असार २० गते भएको निर्णय कार्यान्वयन गर्ने सहमति गरेसँगै विवाद समाधान भएको हो। उक्त स्थानमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक पर्व मनाउने विषयलाई लिएर झडप भएको थियो। हिन्दु समुदायले दीपावली पर्वका अवसरमा बजरंगबलीको झन्डा गाडेपछि मुश्लिम समुदायले आपत्ति जनाउँदै रोक्न खोज्दा दुबै पक्षबीच वादविवाद र झडप भएको थियो।

सो एलानी जग्गामा मुश्लिम समुदायले विगतदेखि मोहररम पर्व मनाउँदै आएकोमा गत असारमा स्थायी संरचना निर्माण गरिएको थियो। राजविराज नगरपालिकाले सो संरचना निर्माण गरिदिएपछि हिन्दु समुदायले विरोध जनाएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले सो संरचना हटाउने निर्णय गरेको थियो। सो निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकेकाे थिएन।

मंगलबारको झडपपछि पुनः बसेको सर्वपक्षीय बैठकले उक्त निर्णयलाई २२ असोज बुधबारसम्म कार्यान्वयन गर्ने निर्णय गरेको छ। संरचना हटाउने जिम्मेवारी राजविराज नगरपालिकालाई दिइएको छ। बैठकले सो स्थानमा अन्य व्यक्तिहरूले राखेका सवारी साधन पनि आफैं हटाउनुपर्ने निर्णय गरेको छ। साथै, हिन्दु समुदायले पनि उक्त स्थानमा लक्ष्मी पूजा नगरी अन्यत्र गर्ने सहमति भएको छ। बैठकले सो ठाउँमा कुनै पनि धर्म वा सम्प्रदाय झल्किने झण्डा नराख्ने निर्णयसमेत गरेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस