राजविराज । सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीमा बिहीबार राति विद्युत सर्ट भएर आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन्।
स्थानीय ललित यादवको घरमा जडान गरिएको मिटरमा विद्युत सर्ट भई सुरु भएको आगो छिमेकी घरमा फैलिँदा ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए। आगो निभाउने क्रममा ललितका छोरा २८ वर्षीय श्यामसुन्दर यादव घाइते भएका हुन्। उनको ढाड र हातमा जलन भएको छ र हाल मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचाररत छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
आगलागीमा ललित यादवका दुई घरसहित उनका छोराहरु सुनिल र श्यामसुन्दर यादवका दुई–दुई घर तथा छोरी पार्वतीदेवीको एक घर जलेको छ। घरभित्र रहेका नगद, गरगहना, अन्नपात, लत्ताकपडा, साथै दुई वटा खसी, एक–एक गाई, भैंसी र बाख्रा समेत जलेका छन्।
घटनाबाट करिब ५० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ। आगो स्थानीयवासी, इलाका प्रहरी कार्यालय रुपनी, सशस्त्र प्रहरी बल, नेपाली सेना र कञ्चनरुप नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएको थियो।
तस्विरः gorkhapatraonline.com