कन्चन यादव
सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै अभिव्यक्ति स्वतन्त्रताको उपयोगिता बढेको छ नै । स्वतन्त्रतासँगै सामाजिक सञ्जालमा चुनौतीको देखिएको छ ‘घृणायुक्त टिप्पणी’ । जात, धर्म, लिङ्ग, भाषा वा पहिचानका आधारमा अपमानजनक शब्द प्रयोग गरेर अरूलाई होच्याउने प्रवृत्ति समाजमा बढ्दो क्रममा छ । यस्तै उदाहरण बन्न पुगेको छ नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य सूर्य थापाले सामाजिक सञ्जालमा दिएको जातीय लक्षित अभिव्यक्ति ।
गत असोज ९ गते मधेशका एक जाति विशेष लक्षित अभिव्यक्तिले सामाजिक सञ्जाल तातिन पुग्यो । राजनीतिक वृतमा कट्टर आलोचक मानिने उनले गृहमन्त्रालयले जारीको प्रेस विज्ञप्तिसँगै राखेर स्टाटस लेखे ‘सिंहदरबार लगायतमा आगजनी गर्ने अपराधीलाई उन्मुक्ति दिने बालेन तेली कम्पनीको अपराधपूर्ण निर्णय ।’

गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख थियो– जेन–जी पुस्ताद्वारा मिति २०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा काठमाण्डौ उपत्यकासहित विभिन्न भागमा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन, २०६८ को दफा ३ बमोजिम जाँचबुझ आयोग गठन भई आयोगले मिति २०८२ भदौ ९ गतेदेखि कार्य प्रारम्भ गरेको उल्लेख थियो । आयोगलाई भौतिक तथा मानवीय क्षतिसम्बन्धी सूचना वा निवेदन संकलन एवं विशेषण गर्ने र कारबाहीको सिफारिस गर्ने जिम्मेवारी समेतको कार्यक्षेत्र रहनेछ भन्ने जानकारी गराउँदै आयोगलाई कार्यक्षेत्रभित्र पर्ने सबै काममा सहयोग गर्ने, प्रमाण उपलब्ध गराउने तथा आयोगको सम्पर्कमा रहन सम्बन्धित सबै पक्षलाई आह्वान गरिएको थियो ।
गृहमन्त्रालयले जारीको प्रेस विज्ञप्तिसँगै राखेर स्टाटस लेखे ‘सिंहदरबार लगायतमा आगजनी गर्ने अपराधीलाई उन्मुक्ति दिने बालेन तेली कम्पनीको अपराधपूर्ण निर्णय ।’
गृहमन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिसँगै एमाले नेता थापाले बालेनलाई लक्षित गर्दै लेखेका अन्य शब्दभन्दा पनि ‘बालेन तेली कम्पनी’ शब्दले मधेशी समुदाय आक्रोशित बन्न पुगे । तराई मधेशका जिल्लाहरुमा बसोबास गर्ने तेली जाती प्रायः साह थर लेखाउँछन् । बालेन मधेशी मूलको भएकोले एमाले नेता थापाले ‘तेली’ भनी दुर्भावनायुक्त अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा चौतर्फी उनी विरुद्ध आक्रोश व्यक्ति गर्न थालिएको छ ।
नेता थापाको उक्त अभिव्यक्तिप्रति चर्चित साहित्यकार एवम् पत्रकार धीरेन्द्र प्रेमर्षीले जातिसूचक, समुदायसूचक, धार्मिकतासूचक होच्याउने प्रकृतिका शब्दहरू प्रयोग गर्नुलाई पुरुषार्थ र पराक्रम ठान्ने महामानवहरूका महानवाणीहरू हिजोआज सञ्जालका सड़कहरूमा बेतोड़ले हुइँकिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यस्ता अभिव्यक्ति दिनेले यथार्थमा सिङ्गो समुदायकै विद्रूप मानसिकताको प्रतिनिधित्व गरेको भनी उनको प्रतिक्रिया छ ।
नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव शैलेन्द्र क्रान्तिले समेत एमाले नेता थापाको अभिव्यक्तिप्रति टिप्पणी गर्दै लेख्छन् ‘एमाले नेता सूर्य थापा आफू मधेशी समुदायप्रति नश्लीय मानसिकताले ग्रसित छन् भन्ने पुष्टि बालेनको नामको पछाडि ’तेली’ जोडेर गरेका छन्, बालेन साह हुन् र उनको पूरा नाम बालेन्द्र साह हो भन्नेमा कुनै दुईमत छैन, जबकी बालेन आफूलाई कहिल्यै तेली, मधेशी वा पहाडी भनेका छैनन् ।’ बालेनलाई मधेशी देखाउन नामको पछाडि ’तेली’ जोडेर उनीप्रतिको जनसमर्थन र विश्वास घटाउन उद्धत रहेको भन्दै सुध्रिन समेत उनले नेता थापालाई सुझाव दिएका छन् ।
एमाले नेता थापाले गलत समयमा गलत मनसायले आफ्नो स्टाटस मार्फत बालेन साहको जात र थातथलोबारे स्मरण गराउनु आपत्तिजनक रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता एवम् पूर्व सिंचाइ मन्त्री उमेश कुमार यादव बताउँछन् । मधेशका एक जाती लक्षित अभिव्यक्ति र दृष्टिकोण भत्र्सनायोग्य रहेको भन्दै सामाजिक सञ्जालमै लेखेर आपत्ति जनाएका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष अम्बु प्रसाद साहले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै लेखेका छन् ‘सुर्य जी तपाइले (कोष्ठ)मा तेली लेखेर मधेशी हो भन्ने सन्देश दिई हेप्न खोज्नु भएको हो भन्ने भ्रममा नपर्नुहोला । तेली मधेशको मात्र होइन नेपालको एक सच्चा देशभक्त समुदाय हो, योग्यता, क्षमता र सम्पति सबैमा सम्पन्न छन् । बालेन मधेश, पहाड, हिमाल र पुरै नेपालको हिरो हो ।’
यस्तै नेपालका चर्चित फिल्म निर्माता एवम् निर्देशक दिपक रौनियारले समेत उक्त अभिव्यक्तिको विषयमा आफ्नो प्रतिक्रिया जनाएका छन् । आफ्नो फेसबुक वालमा लेखेका छन् ‘तेली कम्पनी’ भन्ने शब्द प्रयोग जातीय अहंकारको प्रदर्शन हो, जातिवाद हो र यसलाई अस्वीकार गर्नुपर्छ ।’
सामाजिक अभियन्ता एवम् अधिवक्ता रेखा झा कुनै पनि जाति, समुदाय, धर्म, सम्प्रदाय, लिङ्ग इत्यादिका आधारमा कुनै पनि माध्यमबाट होच्याउने, विभेद गर्ने, तल देखाउने वा अपमानित गर्ने कार्य कोही कसैबाट हुनु कानून विपरित रहेको बताउँछिन् । राजनीतिक दलका नेता मात्र नभई सबैले एकअर्काप्रति सम्मानभाव हुनुपर्नेमा जोड दिँदै उनी भन्छिन् ‘यदी कसैबाट भूलवश त्यस्तो दुर्भावनायुक्त अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट भएको छ भने अविलम्ब त्यस्तो पोष्ट हटाई माफी माग्नुपर्छ, यदी जानीजानी त्यस्तो दुर्भावनायुक्त अभिव्यक्ति दिएको हो भने जो कोही होस् कार्वाही हुनै पर्दछ ।’
पत्रकार एवम् सामाजिक अभियन्ता रिङ्कु कुमारी मिश्रका अनुसार जातिपातिको आधारमा अनावश्यक दुर्भावनायुक्त अभिव्यक्ति दिएर समाजिक एकता, सद्भाव र सहिष्णुतालाई खल्बल्याउने कार्य अत्यन्तै निन्दनीय हाे । हरेक व्यक्तिले आफ्नो हक अधिकार प्रयोग गर्दा अरुको पनि अधिकार हनन् नहोस् भन्ने कुरामा सचेत रहनु उत्तिकै आवश्यक रहेको उनको भनाइ छ ।
दुर्भावनायुक्त अभिव्यक्ति विरुद्ध नागरिक अगुवा एवम् सामाजिक अभियन्ताहरुले समेत कानूनी साक्षरताबारे अनलाइन तथा अफलाइनमा सचेतना जगाउनुपर्ने उनको सुझाव छ । डिजिटल साक्षरता अभियानलाई सशक्त रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनी भन्छिन् ‘दुर्भावनायुक्त अभिव्यक्ति दिने व्यक्ति अविलम्ब सच्चिएन भने कानूनी बाटो अवलम्बन गर्नु जरुरी छ, कानूनभन्दा माथि कोही छैन ।’
नेकपा एमालेका नेता थापाले दुर्भावनायुक्त अभिव्यक्ति राखेपछि सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ भने कतिपयले त्यस्ता अभिव्यक्ति सच्याउन समेत सुझाव दिए । ‘तेली’ शब्दप्रति विमती जनाउँदै सचेत व्यक्तिहरुले आ–आफ्नो फेसबुक वालमा फलानो साह (तेली), म फलानो तेली लेख्ने टे«न्ड शुरु भएको छ । यस्ता कार्यलाई पनि सकारात्मक भन्न मिल्दैन । यद्यपी बालेन शाहले भने नेता थापाको अभिव्यक्तिको विषयमा हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
यस्तो छ वास्तविकता
जबकी काठमाण्डौ महानगरपालिकाका मेयरको वास्तविक नाम बालेन्द्र शाह भए पनि बालेन शाह भनेर चिनिन्छन् । बालेनको पुख्र्यौली थलो मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित एकडारा गाउँपालिका वडा नम्बर २ हो । डा. रामनारायण साह र ध्रुवा साहका छोरा बालेन काठमाण्डौको नरदेवीमा २०४७ सालमा जन्म भएको हो । हाल उनी तीनकुने स्थित गैह्री गाउँका स्थायी बासिन्दा हुन् ।
बालेन र उनका परिवार मधेशी ‘साह’ नै हुन् । यसमा कुनै शङ्का छैन । यद्यपी उनले आफ्नो थरमा ‘साह’ नभई ‘शाह’ लेखाउँछन् । उनले अहिलेसम्म मधेशको साह भएको भन्नुको साटो ‘शाह’ भएको भनी प्रष्टिकरण दिने गर्छन् । नेता थापाले ‘तेली’ भने पनि उनको पुख्र्यौली थर भने साह (सुँडी) हुन् ।
पटक–पटक पोष्ट सम्पादन पछि हटाइयो ।
‘सिंहदरबार लगायतमा आगजनी गर्ने अपराधीलाई उन्मुक्ति दिने बालेन तेली कम्पनीको अपराधपूर्ण निर्णय ।’ भनी सार्वजनिक गरिएको उक्त पोष्टमा व्यापक आलोचना भएपछि पटक–पटक सम्पादन गर्न बाध्य भए । पोष्ट सच्याउँदै ‘तेली’ शब्द हटाइ दिए पनि आलोचना हुने क्रम जारी रह्यो । तत्पश्चात उनले अर्को पोष्ट लेखे:
‘सिंहदरबार लगायत सरकारी भवनमा आगजनी गर्ने अपराधीलाई उन्मुक्ति दिने बालेन साह कं. को अपराधपूर्ण निर्णय । (नोटः मेरो शुरूको टिप्पणीमा रहेको ‘तेली’ शब्द हटाएको छु । खासमा तराई–मधेसबाट थुप्रै साथीहरूले ऊ ’तेली’ नै नरहेको प्राप्त तथ्यसहित सिंगो ’तेली’ समुदायलाई नै त्यसरी जोड्न उचित नभएको सुझाव दिनुभएकोमा म धन्यवाद भन्न चाहन्छु । मैले तेली, सुडी र तमाम तराई–मधेशबासी जनसमुदायलाई उच्च सम्मान गर्दछु । र, बालेन साहको अपराधिक कं. (गिरोह)का रूपमा उसका पालित, पोषित र प्रतिनिधित्व गर्नेगरी मनपरी गरिरहेको समुहलाई मात्र लक्षित गरेको पनि स्पष्ट गर्दछु । ’तेली’ समुदायको भावनामा चोट पुर्याउने मेरो कुनै मनसाय होइन र छैन ।
विघटित प्रतिनिधिसभा सदस्य थापाको अभिव्यक्तिले जातीय द्वन्द्व बढाउनुका साथै पहाडी र मधेशी बिचको सुमधुर सम्बन्धमा दूरी बढाउने सम्भावना बढ्दै गएपछि अन्ततः उनी उक्त पोष्ट हटाउन बाध्य भए । पोष्ट हटाइए पछि सामाजिक सञ्जालमा बहस तथा विरोध विस्तारै साम्य हुँदै गएको छ ।
उनले सुरुमा प्रयोग नगरेको “साह (तेली)” शब्दलाई चार पटकसम्म सम्पादनपछि समावेश गर्नुले गलत वा दुर्भावनायुक्त मनसाय रहेको बुझ्न सकिन्छ । पत्रकार एवम् अधिवक्ता सन्तोष कुमार चौधरीका अनुसार अपराधसँग सम्बन्धित व्यक्तिको नाममा जातीय परिचय जोड्नु जाति वा समुदायलाई सामूहिक रूपमा दुर्भावनायुक्त विचार पोख्नु गलत हो । राजनीतिक दलका जिम्मेवार नेताले सार्वजनिक अभिव्यक्ति दिँदा वा सामाजिक सञ्जालमा टिप्पणी गर्दा विचार पुर्याउनुपर्ने अधिवक्ता चौधरीको भनाइ छ ।
के हो घृणायुक्त टिप्पणी ?
घृणायुक्त टिप्पणी भन्नाले कुनै जात, भाषा, लिङ्ग, धर्म, वर्ग, रंग, पेशा, अपाङ्गता वा यस्तै विशेष पहिचानलाई लक्षित गरी अरुलाई तुच्छ देखाउने, अपमान गर्ने, विभेद गर्ने वा आक्रमण गर्ने प्रकारका नकारात्मक र अपमानजनक भनाइ वा लेखाइलाई घृणायुक्त टिप्पणी भनिन्छ । यसलाई अङ्ग्रेजीमा हेट स्पीच (Hate Speech) भनिन्छ । यस्ता घृणायुक्त टिप्पणीको असरले समुदायबीच अविश्वास र वैमनस्य बढाउनु, हिंसात्मक घटनाको बीजारोपन, लक्षित समूहको आत्मसम्मान र अधिकारमा चोट पुर्याउनुका साथै लोकतान्त्रिक अभ्यासलाई समेत कमजोर बनाउन बल पुर्याउँछ ।
कानुनी व्यवस्था
नेपालको संविधानले जातीय, धार्मिक, भाषिक वा लैङ्गिक विभेदलाई निषेध गरेको छ । मुलुकी अपराध संहिता २०७४ ले सार्वजनिक रूपमा विभेदपूर्ण अभिव्यक्ति गैरकानुनी मानेको छ । सूचना प्रविधि ऐन २०६३ अन्तर्गत अनलाइनमा गरिएको हेट स्पीच पनि कारबाहीयोग्य छ । यद्यपि कार्यान्वयन पक्ष भने कमजोर देखिएको छ ।
नियन्त्रणका उपाय
घृणायुक्त अभिव्यक्तिका असरबारे नागरिक तहमा जानकारी र सचेतना अभाव रहँदै आएको छ । विद्यालय, विश्वविद्यालय र समुदाय स्तरमा सञ्चार साक्षरता (मिडिया लिटरेसी) विस्तार गर्नुका साथै अनलाइन वा अफलाइन दुवै माध्यममा अभिव्यक्ति दिने बेलामा विवेकशील र जिम्मेवार बन्ने संस्कार विकास गर्न सकिन्छ ।
राजनीतिक दलका नेताहरूले सार्वजनिक भाषणमा प्रयोग हुने शब्द र भाषामा आत्मनियन्त्रण राख्ने आचारसंहिता तयार पार्नुपर्छ । यसका साथै घृणायुक्त टिप्पणी गर्ने व्यक्तिलाई समयमै कारबाही गर्नुका साथै समुदायबीच सहकार्य र विश्वास जगाउने गतिविधिहरु सञ्चालन गर्नु आवश्यक छ । नागरिक समाज, समुदायका अगुवा, र अनलाइन प्लेटफर्मबीच सहकार्य गरेर तथ्यमा आधारित छलफल र संवादको संस्कृति प्रोत्साहन गर्नु पनि घृणाको विस्तार रोक्ने प्रभावकारी उपाय हो ।
निष्कर्ष
नेपालजस्तो बहुभाषिक, बहुजातीय र बहुधार्मिक समाजमा घृणायुक्त अभिव्यक्ति नियन्त्रण गर्नु साझा जिम्मेवारी हो। हरेक नागरिक, राजनीतिक नेतृत्व, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्ना शब्द र विचारको सामाजिक प्रभावबारे बुझ्नु आवश्यक छ । अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको आधारशिला हो, तर त्यसको दुरुपयोगले सहअस्तित्व र सहिष्णुतामा गम्भीर चोट पु¥याउँछ । त्यसैले विचारभन्दा अघि विवेक र जिम्मेवारीलाई प्राथमिकता दिने संस्कार विकास गर्न जरुरी छ । तथ्यमा आधारित संवाद, परस्पर सम्मान र सहिष्णु अभिव्यक्तिको अभ्यास नै घृणामुक्त समाज र सबल लोकतन्त्र निर्माणतर्फको दीर्घकालीन बाटो हो ।
नेपालको संविधान र कानुनले विभेदपूर्ण अभिव्यक्तिलाई निषेध गरे पनि, त्यसको कार्यान्वयन अझै कमजोर छ । त्यसैले केवल कानुनी नियन्त्रण होइन, सामाजिक र नैतिक जागरण पनि अनिवार्य छ । विद्यालयदेखि राजनीतिक मञ्चसम्म मिडिया साक्षरता, सहिष्णुता र पारस्परिक सम्मानको संस्कार विकसित गर्न सक्नुपर्छ ।
अतः घृणाको प्रत्युत्तर संवादले दिनुपर्दछ, द्वेषले होइन । सहिष्णुता, तर्क र आपसी समझदारीको बाटो अपनाउँदा मात्र हामी विविधतामा एकता टिकाइ राख्न सक्छौं र लोकतन्त्र समेत अझ सशक्त एवम् मजबुत हुनेछ ।
यादव मिडिया एक्सन नेपालकी मिडिया फेलो हुन्।