राजविराज । जिल्लाकाे विभिन्न स्थानमा चाेरी भएकाे ४ मोटरसाइकल सहित चोरी घटनामा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत असोज २० गते राति करिब १०:३० बजे तिलाठी कोइलाडी गाउँपालिका–८ का ललन कुमार दासको घर अगाडि पार्क गरिएको मोटरसाइकल चोरी भएको थियो। सो घटनापछि प्रहरीले विभिन्न स्थानमा खोजतलास गर्दा ४ वटा मोटरसाइकलसहित ७ जना व्यक्तिलाई नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ परेकामा राजविराज नगरपालिका–१५ का बसन्त राज नारायण यादव, बसन्त सचिन यादव, बसन्त गोविन्द कुमार यादव, राजविराज–११ का अजय कुमार यादव, राजविराज–१० का शिवनन्दन यादव र उदयपुर बेलका नगरपालिका–९ का गणेश बहादुर विश्वकर्मा रहेका छन्।
उनीहरूलाई प्रहरीले चोरी मुद्दामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) डम्बर बहादुर पुरीको कमाण्डमा खटिएको टोलीले ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूसँगै बरामद मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी पुरीका अनुसार पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको छ।
