राजविराज । निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले सप्तरी जिल्ला मैथिली भाषा साहित्यको गढ भए पनि अपेक्षाकृत संरक्षण एवम् प्रवद्र्धन हुन नसकेको बताएका छन् ।
अमृत सहारा फाउन्डेसन सप्तरीले नेपाल पत्रकार महासंघको सभाहलमा शनिवार आयोजित सागर वीर कडारीद्वारा संकलित, लिखित एवम् सम्पादित पुस्तकको विमोचन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख अतिथि यादवले मैथिली भाषा, साहित्य, कला संस्कृतिको मूल थलो भएको बताउँदै उनले भने ‘यो जिल्ला मैथिली भाषा साहित्यको गढ हो, यसको संरक्षण र प्रवद्र्धन जसरी हुनुपर्दथ्यो त्यसरी हुन सकेको छैन्, त्यसैले यसतर्फ ध्यान दिनुपर्दछ ।’

लुम्बिनी विश्व विद्यालयका पूर्व रजिस्ट्रार एवं इतिहासविद डा. पिताम्बर लाल यादवले ग्रामिण भेगमा प्रचलनमा रहेका मैथिली भाषाका कहबी, फकरा, लोकोक्ति इत्यादिलाई सङ्कलन गर्नु प्रशंसनीय कार्य भएको बताए । इन्टेलेक्चुअल फाउन्डेसन नेपालको अध्यक्ष डा। सूर्य प्रसाद यादवले मैथिली भाषामा बोली फरक रहेको चर्चा गर्दा त्यसलाई अन्य भाषा भन्न नमिल्ने बताए ।

मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्रले मैथिली भाषा, साहित्य एवम् संस्कृतिमाथि जारी रहेकोले सम्पूर्ण मैथिलीभाषीहरु एकजुट भएर संरक्षणमा लाग्नुपनेमा जोड दिएका । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, वरिष्ठ पत्रकार रामनारायण देव,पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष सुधा देव, अधिवक्ता एवं साहित्यकार सन्तोष चौधरी, साहित्यकार पिंकी कुमारी झा, मैथिली अभियानी श्यामप्रकाश यादव, मोडेल करण शर्मा, पूर्व सैनिक कैलाश कुमार यादव लगायतले मैथिली भाषा, साहित्य एवम् संस्कृति संरक्षणमा अग्रसरता देखाउनुपर्नेमा जोड दिए ।

पुस्तकका प्रकाशक पत्रकार एवं साहित्यकार श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा लेखक कडारी विगत डेढ दशकदेखि गरेको मेहनतलाई पुस्तकाकार दिएको बताए । मैथली लोकोक्ति सागर पुस्तकमा सदियौदेखि प्रचलित मैथिली भाषाका कहबी एक हजार ११,बुझौली (उखान) पाँच सय १४, फकडा (टुक्का) दुई सय २३ वटा समेटिएको लेखक कडारीले जानकारी दिए । कार्यक्रम सञ्चालन गीतकार श्रीराम मण्डल भरोसीले गरे ।
लेखक कडारीले फरक क्षमता भएका दाजुको नामबाट कोरोनाको समयमा अमृत सहारा फाउन्डेसन स्थापना गरेका थिए ।
