राजविराज । करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयविरुद्ध आन्दोलित उद्योगी–व्यवसायीले आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि एक घण्टासम्म धर्ना दिए। करदाता सेवा कार्यालय हटाउने सरकारले निर्णय गरेपछि उद्योगी–व्यवसायीहरू कार्तिक २० गतेदेखि चरणबद्ध आन्दोलनमा छन्।
सप्तरी उद्योग वाणिज्य संघको नेतृत्वमा जारी आन्दोलनलाई अझ प्रभावकारी बनाउने तयारी भइरहेको संघका महासचिव अमृत संचेतीले बताए। उहाँका अनुसार, सरकार गम्भीर नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेछ।
यसअघि उद्योगी–व्यवसायीहरूले गजेन्द्रनारायण सिंह चोकमा प्रदर्शन, चक्काजाम र बजार बन्द गरेका थिए। कार्तिक २२ देखि २७ गतेसम्म सोही चोकमा धर्ना बसेर हस्ताक्षर संकलन गरिएको थियो।
संकलित हस्ताक्षरको तुल बोकेर मौन जुलुससहित प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्रीलाई ज्ञापन बुझाएपछि उद्योगी–व्यवसायीहरूले कार्तिक २८ गतेदेखि आफ्ना पसल तथा कार्यालयहरूमा कालो झण्डा र कालोपट्टी बाँधेर विरोध जनाइरहेका छन्।