भारोत्तोलनमा चम्किएकी सरिताः गाउँदेखि राजधानीसम्मको यात्रा

राजविराज  ।  मधेशको ग्रामिण परिवेशबाट थुप्रै लक्ष्मणरेखाहरु पार गर्दै भारोत्तोलन खेलमा सफलता प्राप्त गर्ने उदाहरणीय छोरी हुन् सरिता यादव ।

सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थित खुरहुरिया गाउँको सामान्य परिवारमा जन्मिएकी उनी हाल नेपाल आर्मीबाट खेल्छिन् । शुरुमा आफ्नै घरबाट खेल क्षेत्रमा पाइला अघि सार्न कम्ती सङ्घर्ष गर्नु परेन । ‘खेल क्षेत्रमा गएपछि छोरी बिग्रिन्छ, जान दिनु हुँदैन’ कुरा काट्ने जमातका बिचबाट अगाडि बढाउन उनका बुवा राजेन्द्रको ठूलो भूमिका छ । स्थानीय तहमा श्रेणी विहीन कर्मचारी राजेन्द्रले प्रशिक्षक पुन्तीलाल यादवसँग कुरा गरेर सरिताको नाम प्रशिक्षणका लागि नाम लेखाइदिए ।

शुरुमा उनले आफै छोरी सरितालाई आफै साइकलमा बसाएर करिब ४ किलोमिटरको दूरीमा रहेको सहर राजविराज स्थित महेन्द्र क्लवमा पुर्याउने गर्दथे । पछि सरिता आफैंं साइकल चलाएर प्रशिक्षण लिन जान थालिन् ।

आफुले चलाउँदैआएको साइकल देखाउँदै सरिता ।

धैर्य, समर्पण र निरन्तरको अभ्यासबाट उनले जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरका खेलहरुमा सफलता हासिल गरिसकेकी छिन् । उनले कहिल्यै पनि नसोचेको सफलता हात पार्न सफल भएकी छिन् । भारोत्तोलनमा उत्कृष्ट क्षमता देखाएका कारण सरिता नेपाली सेनामा आवद्ध भएकी छिन् ।
जिल्लादेखि राष्ट्रियस्तरका प्रतियोगिताहरुमा प्रायः उनी प्रथम नै भएकी छिन् । दर्जनौं स्वर्णं तथा कास्य पदक प्राप्त गरेकी उनी हाल अन्तर्राष्ट्रिय खेलको तयारीमा जुटकी छिन् । देशको प्रतिनिधित्व गरेर अन्तराष्ट्रिय प्रतियोगितामा खेल्न विदेश जाने र स्वर्ण पदक ल्याउने उनको उनको सपना छ ।

गाउँकै दिदी गायिका अन्जु यादवले गरिरहेको सङ्घर्षबाट आफु थप प्रोत्साहित भएको बताउँछिन् । छोरी भएर खेलमा लागेर के हुन्छ ? बिहे गरिदिनु जस्ता सुझावहरु बुवाआमालाई आउने गरेको सम्झिदै उनी भन्छिन् ‘बुवाआमाले ममाथि विश्वास गर्नुभयो र मैले मेहनत गरेर सफलता पाएँ ।’ आफ्ना साथीहरु बिहे गरेर छोराछोरी पनि पाइसकेको चर्चा गर्दै उनी समाजमा अझैं बालबिवाह व्याप्त रहेकोप्रति चिन्ता व्यक्त गर्छिन् ।

पुस–माघ महिनाको कठयाङ्ग्रिदो जाडोमा साइकल चलाएर प्रशिक्षणका लागि राजविराज जानुपर्दाको क्षण सम्झिदै उनी भन्छिन् ‘एकाबिहानै उठ्न मन हुँदैनथ्यो, बुवा आएर उठाउनु हुन्थ्यो, कैयौ दिन थाकेका बेला बुवाले लुगासम्म धोइदिएको सम्झिन्छु ।’ प्रतियोगिताका बेला बुवाले आफ्नो पारिश्रमिकबाट केही छुट्याएर डाइट ल्याइदिने गरेको र त्यतिले नपुगेपछि डा. शिवशंकर अंकलले सोधखोज गरेर सहयोग गरेको क्षण उनी स्मरण गर्छिन् । छतमा राखिएको खिया लाग्न लागेको साइकलतिर इसारा गर्दै उनी भन्छिन् ‘अंकल, म सरितालाई चिनाउने त्यही साइकल हो, त्यसैले मैले त्यो साइकल कसैलाई दिइनँ, र बुवालाई बेच्न पनि दिइनँ, असाध्यै माया लाग्छ ।’

आमाबुवाका साथ सरिता ।

दाइजो लेनदेन गर्नु घृणित कार्य भएको भन्दै उनी भन्छिन् ‘दाइजो माग्ने केटासँग विहे गर्दिनँ, मेरो बुवाको पनि ममाथि लगानी छ ।’ छोरीप्रति हेरिने दृष्टिकोण बदलिनुपर्ने र छोरीहरुले पनि बाआमाको विश्वास वा भरोसा तोडने कार्य नगरी लक्ष्य केन्द्रित हुनुपर्ने २० वर्षिया सरिताको सुझाव छ । सामाजिक विकृतिप्रति चिन्ता व्यक्त गर्दै उनी भन्छिन् ‘माया प्रेमको नाटक गर्नेहरुबाट सचेत रहनुपर्छ, संसारमा बुवाआमा भन्दा बढी माया गर्ने कोही हुँदैन भने कुरा छोराछोरी पनि बुझ्नु जरुरी छ ।’

शब्द/तस्विर/भिडियोः श्यामसुन्दर यादव/मधेशलाइभ

हेर्नुहोस् विस्तृत भिडियोः

 

Author:



क्याटोगरी छान्‍नुहोस