राजविराज । दरबन्दीअनुसार कार्यालय प्रमुख हुनुपर्ने माग गर्दै जेन–जी सप्तरीआवद्ध युवाहरुले आइतबार दिउँसो नेपाल खानेपानी संस्थान शाखा राजविराजमा तालाबन्दी गरेका छन् ।
संस्थानमा रहेका निमित्त कार्यालय प्रमुख राजाराम यादवलाई सरुवा गरेर पुनः ५ औं तहकै कर्मचारीलाई निमित्त दिएपछि उनीहरु आन्दोलित भएका हुन् । यसअघि गत शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत खानेपानी मन्त्रालयका सचिव र संस्थानका महानिर्देशकका लागि युवाहरुले ज्ञापन–पत्र बुझाएका थिए । अझै दरबन्दीअनुसार ७ औं तहका कार्यालय प्रमुख नपठाएको भन्दै उनीहरुले संस्थानको गेटमा तालाबन्दी गरेका हुन् ।
‘दरबन्दीअनुसार कार्यालय प्रमुख हुनुपर्नेमा ५ औं तहलाई सरुवा गरेर पुनः ५ औं तहकै कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिइएको छ । त्यो सरासर गलत हो’ जेन–जी युवा मुस्तकिम आलमले भने, ‘५ औं तहकै प्रमुख राखिने हो भन्ने अहिलेकाले नै राम्रो काम गर्नुभएको छ । सरुवा किन गर्नुपर्यो?’
२०८१ भदौमा ८ औं तहका कार्यालय प्रमुखको सरुवा भएपछि यादवले निमित्तको जिम्मेवारी पाएका थिए । निमित्त यादवलाई पर्साको वीरगञ्ज सरुवा गरेर पुनः सोही तहका दिपेन्द्र देवलाई निमित्त प्रमुखको जिम्मेवारी दिॅंदा तालाबन्दी भएको हो ।
तालाबन्दीले उत्पादन र पानी वितरण भइरहे पनि दिउँसो २ बजेपछि प्रशासन लगायतका कार्य ठप्प भएको संस्थान राजविराजका सहायक लेखा अधिकृत अजय बरियैत (यादव)ले बताए । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले ताला खुलाउने विषयमा युवाहरुसॅंग समन्वय भइरहेको बताए ।