काठमाण्डौ । दिवङ्गत पत्रकार सुरेश रजकको परिवारलाई जीवनयापनमा सहयोग हुने उद्देश्यले नेपाल सरकारले पत्नी सुजन मगियालाई रोजगार उपलब्ध गराएको छ ।
मङ्गलबार सञ्चार तथा सूचना प्रविधिमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री जगदीश खरेलको उपस्थितिमा उनलाई औपचारिक रूपमा नियुक्तिपत्र प्रदान गरिएको हो । कार्यक्रममा सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले मगियालाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।
उनलाई मुद्रण केन्द्रमा कम्प्युटर अधिकृतका रुपमा करार सेवामा काम गर्ने गरी नियुक्तिपत्र दिइएको छ । सरकारको यस कदमलाई पत्रकार परिवारप्रति सहानुभूति देखाएकोमा पत्रकारहरुले उक्त कार्यको प्रशंसा गरेका छन् ।
गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा एक निजी घरमा गरिएको आगजनीमा परेर पत्रकार रजकको मृत्यू भएको थियो । एभिन्युज टेलिभिजनमा कार्यरत उनी त्यसबखत समाचार सङ्कलनमा खटिएका थिए ।