निता थापा
हिजो र आज बारा जिल्लामा भएको आन्दोलनले एउटा कुरा धेरै स्पष्ट बनाइदियो—अब देशले ठूलो आन्दोलन सहन सक्दैन। यस्ता आन्दोलन फेरि–फेरि भए देशको बाँकी संरचना नै बिग्रने छ र स्थिति फेरि पुरानै दुःखद दिनतिर फर्किन सक्छ। हामीले बुझ्नुपर्ने कुरा सञ्चार, शिक्षा वा राजनीतिभन्दा पनि महत्वपूर्ण कुरा न्याय र जवाफदेही हो।
सरकार जति परिवर्तन भए पनि यदि न्यायपालिकाको काम, प्रहरी प्रशासनको जिम्मेवारी र छानबिन प्रक्रिया सुधारिएन भने देश अघि बढ्नै सक्दैन। कुनै व्यक्तिमाथि आरोप लागेको छ भने छिट्टै, निष्पक्ष र पारदर्शी रूपमा छानबिन हुनैपर्छ। यदि उनी दोषी छन् भने कानुन अनुसार कारबाही होस्, नत्र दोष प्रमाणित नभएसम्म सफाइ (क्लिन–चिट) दिनुपर्छ। यसले नै नागरिकको विश्वास कायम राख्छ। आज जनताको धैर्य सकिँदैछ।
बारा आन्दोलनले नै देखाएको छ कि जनताले अझै धेरै अन्याय सहन सक्दैनन्। ओली, लेखन वा जुनसुकै जिम्मेवार व्यक्ति किन नहून्— छानबिन बिना कुनै कुराको अन्त्य हुनै हुँदैन। हिजो शान्त भएको जस्तो देखिए पनि देशभित्र असन्तुष्टि जम्मा हुँदै गएको छ। यदि राज्यले यो आवाज सुनेन भने भोलि ठूलो दुर्घटना हुन सक्ने चिन्ता सबैलाई छ।
अब सबै तहका नेताहरू, राज्यका हरेक संस्थाहरू, र हामी शिक्षक–शिक्षिकाले समेत जनताको भावना बुझेर शान्ति, न्याय र जिम्मेवारी को कुरा उठाइरहनै पर्छ। किनकि जनता सडकमा निस्कनु केवल विरोध होइन— देश बच्छ कि डुब्छ भन्ने चिन्ताले जन्मिएको आवाज हो।