जसपा नेपालको देशव्यापी सङ्घर्ष कार्यक्रम घोषणा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना न्यायसंगत मागहरू पूरा गराउन दबाब सिर्जना गर्ने उद्देश्यले देशव्यापी चरणबद्ध शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहका अनुसार मङ्सिर १० गतेदेखि पौष १७ गतेसम्म विभिन्न चरणमा विरोध–कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरिएको हो । उनका अनुसार पहिलो चरण अन्तर्गत मङ्सिर १० गते देशभरका सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइनेछ । मङ्सिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर तथा बजार क्षेत्रमा विरोध कार्यक्रम, कोण सभा तथा जनपरिचालन चलाइने पार्टीले जनाएको छ ।

मङसिर १९ र २१ गते जिल्ला सदरमुकामका प्रशासन कार्यालय अगाडि मागसहितका प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना, मङ्सिर २७ देखि पौष ४ सम्म देशभर जिल्ला–स्तरीय विरोध सभा तथा जनसभा आयोजित गरिने पनि पार्टीका सचिव साहले जानकारी दिएका छन् ।

यसैगरी प्रदेश–स्तरमा समेत वृहत जनप्रदर्शनका कार्यक्रम तय गरिएको छ । जसअनुसार पौष १२  विराटनगर, कोशी प्रदेश, पौष १४  जनकपुर, मधेश प्रदेश, पौष १५ वीरगंज, मधेश प्रदेश, पौष १७ नेपालगञ्ज/भेरहवा र लुम्बिनी प्रदेशमा जनप्रदर्शन गरिनेछ ।

पार्टीले आवश्यकता अनुसार थप आन्दोलनका कार्यक्रमहरू सम्बन्धित जिल्ला वा प्रदेश समितिले निर्णय गरी सञ्चालन गर्न सक्ने जनाएको छ । जसपाका अनुसार सरकार समक्ष उठाइएका विषयहरू समाधान नभएसम्म शान्तिपूर्ण रुपमा संघर्ष जारी रहनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस