विवाहपञ्चमी महोत्सव :आजु जनकपुर मङ्गल हे…

जनकपुरधाम । मंसिर शुक्ल पञ्चमीका दिन जनकपुरधाममा आज ऐतिहासिक विवाहपञ्चमी महोत्सव अत्यन्तै भव्यरूपमा मनाइँदै छ।

त्रेता युगमा आजकै दिन भगवान राम र सीताबीच विवाह भएको विश्वास अनुसार प्रत्येक वर्ष झैँ यस वर्ष पनि जनकपुरमा वैदिक परम्परानुसार स्वयंबर तथा विवाह कार्यक्रमको तयारी पूरा भएको छ। प्राचीन मिथिलाको राजधानी जनकपुरमा राम–सीताको विवाह भएको मान्यता रहेकाले आधुनिक समयमा पनि राम–जानकीका डोलालाई स्वयंबर गराई विवाह गर्ने परम्परा निरन्तर चल्दै आएको छ।

आज दिउँसो साधुसन्तको अगुवाइमा झाँकी, बाजागाजा र कीर्तनसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर बाह्रबिघा रंगभूमि मैदान पुग्नेछन्। त्यहाँ दुवै डोलाको मिलनपछि वैदिक विधिअनुसार मालाफेर गरी स्वयंबर सम्पन्न गरिने परम्परा छ। स्वयंबरको अवलोकनका लागि बाह्रबिघा मैदानमा आज हजारौँ श्रद्धालुहरूको घुइँचो लागेकाे छ।

स्वयंबर सम्पन्न भएपछि राम–जानकीको डोलालाई नगर परिक्रमा गराउँदै पुनः जानकी मन्दिर पुर्‍याइनेछ। साँझदेखि जानकी मन्दिर परिसरमा विशेष वैवाहिक काज सुरु हुनेछ। मन्दिर परिसर भव्य रूपमा सजाइएको छ र विवाहका लागि पारम्परिक मरबा (विवाह मण्डप) तयार पारिएको छ।

महोत्सवको मुख्य आकर्षणमा झाँकी, भजन–कीर्तन, नाटक, नाचगान तथा मिथिलाको मौलिक सांस्कृतिक प्रस्तुति रहने जनाइएको छ। बालबालिकादेखि वृद्धसम्मले राम, सीता, लक्ष्मणजस्ता पात्रको अभिनय प्रस्तुत गर्ने परम्पराले वातावरण थप धार्मिक–सांस्कृतिक बनेको छ।

नेपालका विभिन्न स्थान तथा भारतका बिहार, यूपी, झारखण्डलगायत क्षेत्रबाट आएका श्रद्धालुले जनकपुर भरिभराउ छ। एक सातादेखि निरन्तर आगमन भइरहेकाले बाह्रबिघा मैदान, जानकी मन्दिर, सडकपेटी, मठमन्दिर र संघ–संस्थाहरूमा भक्तजनले आश्रय लिएका छन्।

श्रद्धालुहरूको सहजताका लागि विभिन्न संघ–संस्था, क्लब तथा स्वयंसेवी समूहहरूले निःशुल्क आवास, भोजन, पानी, स्वास्थ्य सेवा र माइकिङ सुविधाहरूको व्यवस्था गरेका छन्। सप्ताहव्यापी महोत्सवअन्तर्गत नगरदर्शन, फुलवारी लिला, धनुषयज्ञ, तिलकोत्सव, मटकोरलगायतका कार्यक्रम सम्पन्न भइसकेका छन्।
भोलि बुधबार रामकलेवा तथा जन्ती बिदाइसँगै विवाहपञ्चमी महोत्सव औपचारिक रूपमा समापन हुने जनाइएकाे छ ।

Author:



क्याटोगरी छान्‍नुहोस