सप्तरीमा ८ क्विन्टलभन्दा बढी गाँजासहित एक युवक पक्राउ

राजविराज। सप्तरी प्रहरीले लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो। मङ्सिर ९ गते बिहान करिब ३ बजे, जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक तथा इलाका प्रहरी कार्यालय सखडाबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको संयुक्त टोलीले छिन्नमस्ता गाउँपालिका–४ लालापट्टी टोलमा चेकजाँचका क्रममा गाँजासहित पिकअप गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

चेकजाँचका क्रममा को १ च ९६६५ नम्बरको पिकअप गाडीबाट ३२ पोका लागू औषध गाँजा फेला परेको थियो। नापतौल गर्दा प्लास्टिकसहित ८ क्विन्टल ५१ किलो २०० ग्राम तथा प्लास्टिक बाहेक ८ क्विन्टल ३२ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

पिकअप गाडी चालक राजविराज नगरपालिका–११ निवासी २९ वर्षीय रामकुमार यादवलाई गाडी तथा गाँजासहित नियन्त्रणमा लिई लागू औषध कसुर मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ। पक्राउ परेका यादवलाई सप्तरी जिल्ला अदालत, राजविराजबाट ६ दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

लागु औषध ओसारपसारमा संलग्न अन्य व्यक्ति तथा सञ्जालबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस