विराटनगर । मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन उद्देश्यसहित मैथिली एसोसिएशन नेपालले पुस १२ र १३ गते कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आयोजना गर्ने भएको छ।
मैथिली एसोसिएशन नेपालको केन्द्रीय कार्यालय विराटनगरको आयोजनामा हुन लागेको उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। अध्यक्ष प्रविण नारायण चौधरीले बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत १० लाख रुपैयाँभन्दा बढी लागतमा सम्मेलन आयोजना हुन लागेको जानकारी दिए। सम्मेलनमा नेपाल, भारत तथा अन्य देशका गरी १ सय ५ जना विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले मैथिली भाषाभाषी समुदायलाई सम्मान गर्दै सम्मेलन सम्पन्न गर्न ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। सम्मेलन मधेस प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभको प्रमुख आतिथ्यतामा आयोजना हुनेछ भने कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलसहित करिब ५ सय जना मैथिली भाषाभाषीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
दुई दिने सम्मेलनमा विद्यापति स्मृति सभा, शोभा यात्रा, सांस्कृतिक झाँकी प्रदर्शनी, शंखघोष, उद्घाटन समारोह, विभिन्न विषयमा विद्वत् विमर्श सत्र, कवि सम्मेलन, सांस्कृतिक साँझ (नृत्य तथा गीत प्रस्तुति) लगायतका कार्यक्रम सञ्चालन हुनेछन्। सम्मेलनको अन्त्यमा ‘विराटनगर घोषणा पत्र’ जारी गर्दै समापन समारोह सम्पन्न गरिनेछ।
पत्रकार सम्मेलनमा मैथिली एसोसिएशन नेपालका केन्द्रीय उपाध्यक्ष पंकज बर्मा, आभा अनुपमा, सचिव भास्कर चौधरी तथा मैथिली अभियन्ता डा. एस.एन. झा र डा. योगेन्द्र यादवको उपस्थिति रहेको थियो।