जनकपुरधाम । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर क्लोथ बैंक नेपालले सेवामूलक कार्यबाट नयाँ वर्षको सुरुवात गरेको छ ।
संस्थाले आश्रित बालबालिकाको संरक्षण र सहयोगलाई प्राथमिकता दिँदै जनकपुरधामस्थित कबिर बाल आश्रमलाई न्यानो कपडा तथा सिरक सहयोग प्रदान गरेको हो । क्लोथ बैंक नेपालका अध्यक्ष डा. राजीव झाको नेतृत्वमा बिहीबार बिहान आश्रमका सञ्चालक सन्त सत्यनारायण आलोकलाई त्यहाँ रहेका बालबालिकाका लागि १५ थान ज्याकेट र ७ थान सिरक हस्तान्तरण गरिएको हो ।
नयाँ वर्षको पहिलो दिन बिहानै अध्यक्ष डा. झाले फोनमार्फत शुभकामना आदान–प्रदान गर्दै मानवीय सेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा डिआइजी गोविन्द थपलिया, समाजसेवी अमरचन्द्र अनिल, क्लोथ बैंक नेपालका उपाध्यक्ष पुरण गुप्ता, कोषाध्यक्ष रुबि झा, बिनोद ठाकुर, कृष्ण कुमार साह, राम टहल यादव, सुदिप महतो तथा पत्रकार बद्रीनाथ झा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले क्लोथ बैंक नेपालको निरन्तर मानवीय सेवाले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको उल्लेख गर्दै नयाँ वर्षको सुरुवात नै सेवाबाट गर्नु प्रेरणादायी भएको बताए ।