राजविराज । सप्तरीको बोदेबरसाइन नगरपालिका–१० खडकपुरका ओमप्रकाश दासले एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएसँगै गाउँमा खुसीको माहोल छ ।
बधाइ दिनेहरूको ओइरो लागे पनि अब पढाइ कसरी अघि बढाउने भन्ने चिन्ताले भने उनलाई पिरोलेको छ । दलित तथा विपन्न परिवारमा जन्मिएका ओमप्रकाशले पढाइ खर्च जुटाउन लामो समयसम्म बिजुली मिस्त्रीको काम गर्दै आएका थिए। उनको लगनशीलता, सङ्घर्ष र मिहिनेतको गाउँलेहरूले खुलेर प्रशंसा गरिरहेका छन् । धेरैका लागि उनी आज प्रेरणाको पात्र बनेका छन् । तर, यो सफलताबीच पनि उनका आमाबुवा भने होस्टेल खर्चका लागि ऋण नपाउँदा चिन्तित छन्।
ओमप्रकाशका बुवा रामकिसुन दासका अनुसार गाउँलेसँग ब्याजमा लिएको एक लाख रुपैयाँ एमबीबीएस भर्ना र दाङसम्मको आवतजावतमै खर्च भइसकेको छ । पुस ६ गते दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुँदा कलेज शुल्कबापत ६४ हजार पाँच सय रुपैयाँ लाग्यो, जसमा ५० हजार रुपैयाँ धरौटी हो । ड्रेसका लागि अझै १३ हजार पाँच सय रुपैयाँ तिर्न बाँकी छ । होस्टेलमा बस्न मासिक १५ हजार रुपैयाँ आवश्यक पर्ने भए पनि परिवार ऋणको जोहो गर्न सकिरहेको छैन ।
ऐलानी जग्गामा बस्दै आएको परिवारको आम्दानी दैनिकी चलाउनमै अपुग रहेको रामकिसुन बताउँछन् । जन्मदेखि नै आंशिक शारीरिक अपाङ्गता भएका ओमप्रकाशले घर नजिकैको विद्यालयबाट पढाइ सुरु गर्दै लहानसम्म पुगेर ११ र १२ कक्षा २.५६ जीपीएसहित उत्तीर्ण गरेका थिए । सुरुमा असफल भए पनि हिम्मत नहार्दै चौथो प्रयासमा उनी मधेशी दलित कोटाबाट पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएर उदाहरणीय बने।
डाक्टर बन्ने सपना साँचिरहे पनि आर्थिक संकटले उनी तनावमा परेका छन् । एमबीबीएस अध्ययन गर्ने सपना साकार पारिदिनमा सहयोगका लागि ओमप्रकाशले सबैसँग सहयोगको अपील गरेका छन् ।