सुनसरीमा ट्रक दुर्घटना : पाँच मजदुरको मृत्यु, तीन घाइते

सुनसरी । सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका–८ सोनियाहीमा आज भएको ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक हुलाकी राजमार्ग अन्तर्गत सोनियाहीस्थित सडकको घुम्तीमा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्द्र खड्काका अनुसार दुर्घटना आज बिहान करिब साढे ५ बजे भएको हो। उनका अनुसार विराटनगरबाट टायल र मार्बल बोकेर सप्तरीको राजविराजतर्फ जाँदै गरेको ट्रक मोडमा पल्टिँदा पछाडि सामानमाथि बसेका पाँच जना मजदुरलाई टायल र मार्बलले थिचेको थियो। सामानले च्यापिँदा पाँचै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउने सबै व्यक्ति सुनसरीको बर्जु गाउँपालिका–१ का बासिन्दा रहेका छन्। मृतकहरू ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ रहेको प्रहरीले पुष्टि गरेको छ।

ट्रकमा चालकसहित कुल नौ जना सवार थिए। तीमध्ये चालकको क्याबिनमा चार जना र पछाडि सामानमाथि पाँच जना मजदुर बसेका थिए। क्याबिनमा सवार चार जनामध्ये तीन जना सामान्य घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस