सप्तरी–३ मा उपेन्द्र यादव जनसम्पर्क अभियानमा व्यस्त

राजविराज । सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतासँग छलफल तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

डाक्नेश्वरी नगरपालिका स्थित कटैया फत्तेपुरमा विहीबार आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले क्षेत्रको समस्याबारे अवगत गराएका छन् । सहभागीहरूले गाउँहरू जोड्ने सडकहरूको जर्जर अवस्था, सिँचाइ अभाव, विद्यालयहरूमा शैक्षिक गुणस्तरमा कमी, भरपर्दो स्वास्थ्य सुविधा नरहेको, गरिबी तथा बेरोजगारी समस्याबारे जसपा अध्यक्ष यादव समक्ष गुनासो गरेका छन् ।

कार्यक्रममा अध्यक्ष यादवले सप्तरीको विकास तथा समृद्धिका लागि आफू प्रतिवद्ध रहेको बताए । विगतमा सप्तरीका जनताबाट निर्वाचित हुँदा दूरगामी सोचका साथ शिक्षा, स्वास्थ्य र सडक निर्माण सम्बन्धि थुप्रै कामहरू गरेको उनले चर्चा गरे ।

विगतमा कांग्रेस कम्युनिस्टले सत्ता सञ्चालन गरेको तथा उनीहरूकै जनप्रतिनिधि जितेर गए पनि परिवर्तन नभएको चर्चा गर्दै उनले भोट माग्न आउनेहरूसँग प्रश्न गर्न आग्रह गरे । क्षेत्र नम्बर ३ मा अत्यधिक गरिबी, अशिक्षा र बेरोजगारी रहेकोप्रति चिन्ता व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जसपा नेपालका उम्मेदवारहरू भारी मतले जिताउन अध्यक्ष यादवले आह्वान गरे।

कार्यक्रममा पार्टीका केन्द्रिय नेताहरूले समेत आआफ्ना विचार राखेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस