राजविराज, १८ माघ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा दर्जन बढी नेता तथा कार्यकताहरु आइतबार जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
जनमत पार्टीबाट तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ का अध्यक्षका प्रत्यासी बिजय यादव (डाक्टर)को नेतृत्वमा सुरेन्द्र यादव, सफिद रहमान, मदन यादव सहित दर्जन बढी नेता तथा कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई पार्टीका केन्द्रीय नेता एवम् सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदबार उमेश कुमार यादव, जिल्ला सचिव निरज मुक्ति, नेता एवम् वडा अध्यक्ष मन्सुर मिश्र (बाबा), युवा नेता कृष्ण कुमार यादव (क्रिस) लगायतले गम्छा, माला तथा टीका लगाएर स्वागत गरेका छन् ।
उनीहरुको प्रवेशले सङ्गठन थप बलियो हुनुका साथै चुनावी अभियानमा समेत मद्दत मिल्ने नेता एवम् उम्मेदबार यादवले बताए । चुनावी अभियानका क्रममा आफूले आम मतदाताबाट पाएको हौसला र प्रतिवद्धताले थप उत्साहित भएको उनले जानकारी दिए ।
उम्मेदबार यादवले सप्तरी २ का वडा तथा टोलहरुमा जनतासँग भेंटघाट तथा चुनावी छलफल कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
