जनकपुरधाम,१५ फागुन । नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विमलेन्द्र निधिले संविधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताएका छन्।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकमा बढ्दो राजनीतिक अस्थिरता र व्यवस्थाप्रति देखिएको असन्तुष्टिप्रति चिन्ता व्यक्त गरे। संघीय संरचनाको कार्यान्वयन अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उल्लेख गर्दै उनले संविधानलाई सही दिशामा अघि बढाउन दलहरूबीच सहकार्य आवश्यक रहेको बताए।
संविधान कार्यान्वयनका क्रममा देखिएका जटिलता हटाउँदै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य सुदृढ गर्नुपर्नेमा उनले जोड दिए। संविधानलाई उत्कृष्ट दस्तावेजको संज्ञा दिँदै उनले यसको मर्मअनुसार इमान्दार र प्रतिबद्ध कार्यान्वयन हुनुपर्ने धारणा राखे। जनताको अधिकार सुनिश्चित गर्दै विकासलाई तीव्रता दिन संविधानको भावना अनुरूप काम गर्नुपर्ने उनको भनाइ थियो।
निधिले संघीयता, समावेशिता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्दै अघि बढ्नुपर्ने बताए। अनावश्यक टीकाटिप्पणी भन्दा संविधानको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने उनको सुझाव थियो। सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै उनले राजनीतिक स्थायित्वविना आर्थिक समृद्धि सम्भव नहुने बताए। त्यसका लागि दलहरूबीच सहमति र सहकार्यको संस्कृति विकास गर्नुपर्नेमा उनले जोड दिए।
पत्रकारहरूसँगको संवादमा उनले मधेश प्रदेशको विकास निर्माण, रोजगारी सिर्जना र कृषि आधुनिकीकरणका विषयमा सबै पक्ष मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए।