राजविराज, १६ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शोषित, उत्पीडित समुदायको अधिकार र विकासका लागि एक मात्र विकल्प आफुहरुको पार्टी भएको बताएका छन् ।
सप्तरीको राजगढ गाउँपालिका स्थित नर्घोमा घरदैलोका क्रममा आयोजित जनसमुदायलाई शनिवार सम्बोधन गर्दै उनले स्थापनाकालदेखि नै आफुहरु मधेशी, महिला, दलित, आदिवासी, जनजाति लगायत पछाडि पारिएका समुदायका लागि सङ्घर्षरत रहेको बताए । सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका उनले अन्तरिम संविधानमा मधेशी लगायतका समुदायको अधिकार नलेखिएपछि संविधानको कपी जलाएको चर्चा गर्दै भने ‘देशका मधेशी लगायत अझैं पनि उपेक्षित उत्पीडित समुदायले अधिकारकालागि सङ्घर्ष गर्नुपर्ने अवस्था विद्यमान छ, त्यसैले अधिकार, विकास र समृद्धिका लागि जसपा नेपाल एक मात्र विकल्प हो ।’
मेचीदेखि महाकालीसम्म २२ जिल्लाको भूभाग मधेश भए पनि त्यसलाई विभाजित गरेर कमजोर पार्ने काम भएको अध्यक्ष यादवले बताए । मधेशीलाई अवसरबाट वञ्चित गरिएको चर्चा गर्दै उनले भने ‘देशको आधा भन्दा बढी जनसङ्ख्या मधेशीको छ, तर प्रहरी प्रशासन, कर्मचारीमा एकल जातीय वर्चश्व हाबी छ, समान अवसर र बराबरको हिंस्सेदारीका लागि संविधान ंसंशोधन तथा पुनर्लेखन आवश्यक छ, यसका लागि जसपा नेपाल बलियो शक्तिको रुपमा प्रतिनिधि सभामा उपस्थित हुनु आवश्यक छ ।’
सङघीयता, प्रदेश तथा आरक्षण विरोधी शक्तिहरु मधेशी जनतालाई दिग्भ्रमित पार्ने काम गरिरहेको भन्दै त्यस्ता भ्रमको पछाडि नपर्न उनले आग्रह गरे । आगामी चुनावबाट भाग्य भविष्य समेत लेखिने भएकोले जसपा नेपाल मात्र मधेशी लगायत शोषित उत्पीडित जनताको पक्षमा लडाइ लड्ने पार्टी भएको उनले बताए । विगतका जननिर्वाचित प्रतिनिधिहरुले आफै जितेको क्षेत्रको विकास गर्न नसकेकोले आफु निर्वाचित भएपछि जनताले अनुभूति हुने गरी परिवर्तन हुने अध्यक्ष यादवले प्रतिवद्धता व्यक्त गरे ।
रुपनी गाउँपालिकाको मुसहर्निया, बसबिट्टी, पिप्राही, मकरी, सिरकजरी, बिरेन्द्रबजार नयाँबस्ती, राजगढ गाउँपालिकाको नर्घो लगायतका गाउँहरुमा अध्यक्ष यादव सहितको टोलीले घरदैलो गरेको जसपा नेपालका केन्द्रिय सचिव एवम् क्षेत्र नम्बर ३ निर्वाचन परिचालन समितिका संयोजक शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।