रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनुषा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साह (कमल)को उम्मेदवारी खारेज गरिएको छ । निर्वाचन आयोग नेपालले साहको उम्मेदवारी खारेज भएको पुष्टि गरेको हो ।

व्यवसायी तथा ठेकेदारको रूपमा परिचित साहले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका थिए । हुलाकमार्फत २०८२ फागुन १० गते प्राप्त भएको एक पत्रका आधारमा आवश्यक कार्वाही प्रक्रिया अघि बढाइएको थियो ।

२०८२ फागुन ११ गते साहसँग स्पष्टीकरण मागिएको थियो । उम्मेदवार साहले आयोगसमक्ष आफ्नो स्पष्टीकरण समेत पेश गरेका थिए । तर अन्ततः आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको जनाएको छ ।

निर्वाचन आयोग नेपाल का प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कालोसूचीमा परेका कारण धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साह ‘कमल’को उम्मेदवारी खारेज गरिएको जनाएको छ । आयोगमा पेश गरिएको विवरणमा उनले कमल निर्माण सेवामा सेयर होल्डरको रूपमा काम गरेको उल्लेख गरेका छन्।

किशोर कन्स्ट्रक्सनका किशोरीलाल साहलाई २०७९ असोज ३१ र २०८० पुस ६ गते कालोसूचीमा राखिएको थियो । सोही आधारमा साहविरुद्ध प्रमाणसहित उजुरीका आधारमा आयोगले छानबिन प्रक्रिया अघि बढाएको थियो।

रास्वपा उम्मेदवार साहको कमल कन्स्ट्रक्सन कालोसूचीमा रहेको दाबीसहित क्षेत्र नम्बर १ को निर्वाचन कार्यालयमा उजुरी दर्ता भएको थियो । उनी अघिल्लो निर्वाचनमा जनमत पार्टीबाट चुनाव लडेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस