सप्तरी । सप्तरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सिताराम साह विजयी भएका छन् । उनले कुल ३६ हजार ४ सय १२ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचन परिणामअनुसार साहले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व युवा तथा खेलकुद विकास मन्त्री तेजुलाल चौधरीलाई उल्लेख्य मतान्तरले पराजित गरेका छन् । साहले चौधरीभन्दा २३ हजार ३ सय ९ मत बढी प्राप्त गर्दै जित सुनिश्चित गरेका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवार चौधरीले १३ हजार १ सय ३ मत प्राप्त गरेका छन् । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै साहको जित औपचारिक रूपमा घोषणा गरिएको हो ।
यसैबीच, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार डा. बाबी सिंहले १० हजार २ सय ८० मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन् । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रुवी कुमारी कर्णले १ हजार ७ सय ९ मत प्राप्त गरेकी छन् ।
यस क्षेत्रको निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव बढ्दै गएको संकेत गरेको विश्लेषकहरूले बताएका छन् । मतगणनाको सुरुवाती चरणदेखि नै साहले अग्रता कायम राखेका थिए । अन्ततः सो अग्रतालाई कायम राख्दै उनले प्रतिनिधिसभा सदस्यको पदमा विजयी हासिल गर्न सफल भएका हुन् ।