राजविराज । आफुहरुको भविष्य जोखिममा परेको भन्दै डिप्लोमा सिभिल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुले सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालय खुदीबखारी कुपहीमा तालाबन्दी गरेका छन् ।
विद्यार्थीहरूले गम्भीर शैक्षिक अनियमितताको आरोप लगाउँदै छिन्नमस्ता गाउँपालिका अध्यक्षलाई सम्बोधन गर्दै ज्ञापनपत्र समेत बुझाएका हुन् । डिप्लोमा सिभिल इन्जिनियरिङ अध्ययनरत विद्यार्थी अंशु कुमार मण्डलसहितका विद्यार्थीहरूले आफूहरुको शैक्षिक भविष्य जोखिममा परेको भन्दै उनीहरुले सम्वन्धित निकायसँग न्यायको माग गरेका छन् ।
सिटीईभिटी.अन्तर्गत सञ्चालन भइरहेको उक्त कार्यक्रमअन्तर्गत शैक्षिक सत्र ०८१/०८२ मा तेस्रो सेमेस्टरमा अध्ययनरत हुँदा पहिलो सेमेस्टरमा केहीदिन मात्र कक्षा सञ्चालन भएको, दोस्रो तथा तेस्रो सेमेस्टरमा एक दिन पनि कक्षा सञ्चालन नभएको विद्यार्थीहरुको आरोप छ । विद्यालय प्रशासनको लापर्वाहीका कारण विद्यार्थीहरूको पठनपाठन अस्तव्यस्त बन्न पुगेको उनीहरूको गुनासो छ ।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार सिटिइभिटीले परीक्षा फारम भर्न प्रतिविद्यार्थी ५०० रुपैयाँ शुल्क निर्धारण गरे पनि विद्यालय प्रशासनले दुई हजार पाँच सय रुपैयाँसम्म असुल्ने गरेको छ । शुल्क बुझाएको आधिकारिक रसिद नदिएको, तोकिएको शुल्क बुझाउँदा समेत फारम प्रक्रिया अघि नबढाइएको र पटक–पटक सम्पर्क गर्दा पनि स्पष्ट जवाफ नदिएको विद्यार्थीहरूको आरोप छ ।
२०८२ फाल्गुन २९ गतेदेखि परीक्षा सुरु भए पनि प्रवेशपत्र नपाएका कारण आफूहरू परीक्षा दिनबाट वञ्चित भएको विद्यार्थीहरुको गुनासो छ । सोही दिन विरोधस्वरूप विद्यार्थीहरूले विद्यालयको कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दीपछि केही विद्यार्थीलाई परीक्षामा सहभागी गराइएको भए पनि सबैलाई परीक्षामा सहभागी नगराएकोले आफूहरु परीक्षा दिनबाट वञ्चित भएको उनीहरुको सामूहिक गुनासो छ ।
ज्ञापनपत्रमा विद्यालयका प्राचार्य, कोअर्डिनेटर ई. दिनेश साह लगायत सम्बन्धित व्यक्तिहरूमाथि छानबिन गरी कारवाही गरी न्याय दिलाउन विद्यार्थीहरुले माग गरेका छन् । समस्या समाधानका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मधेश प्रदेश सरकार शिक्षा मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सप्तरी, जिल्ला शिक्षा समन्वय इकाई सप्तरी तथा इलाका प्रहरी चौकी सखडा लगायतका निकायहरूमा समेत बोधार्थ पठाइएको छ । ज्ञापनपत्र निवेदनमा अंशु कुमार मण्डल लगायतका विद्यार्थीहरूको हस्ताक्षर रहेको छ ।
विद्यालयका प्रिन्सिपल लालबहादुर मण्डलसँग थप बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।