पर्सामा आमाको नामबाट नागरिकता दिने प्रक्रिया तीव्र, एक महिनामा ३३ जना लाभान्वित

वीरगञ्ज, ५ चैत — पर्सा जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता वितरण गर्ने कार्यलाई तीव्रता दिएको छ। पछिल्लो एक महिनामा मात्र ३३ जनाले यस्तो नागरिकता प्राप्त गरेका छन्।

नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ लागू भएसँगै बाबुको पहिचान नखुलेका नागरिकलाई आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयनमा आएको हो। सोही अनुसार फागुन ५ गतेदेखि नागरिकता वितरण सुरु गरिएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार आवश्यक मापदण्ड र कागजात पूरा गरेका नागरिकलाई नागरिकता ऐन, २०६३ तथा संशोधित नियमावलीअनुसार नागरिकता प्रदान गरिएको हो।

नागरिकता प्राप्त गरेपछि सेवाग्राहीहरूले राहत महसुस गरेका छन्। वीरगञ्ज–११ का विजयकुमार साहले प्रक्रिया सहज भएको बताए भने वीरगञ्ज–१३ का जुबैर अन्सारीले लामो प्रतीक्षापछि नागरिकता पाउँदा खुशी व्यक्त गरे।

सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार अब पनि मापदण्ड पूरा गर्ने अन्य नागरिकलाई क्रमशः आमाको नामबाट नागरिकता प्रदान गरिनेछ।

Author:



क्याटोगरी छान्‍नुहोस