१५ चैत, काठमाडौं । केपी शर्मा ओली र रमेश लेखक लाई अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद दिएको छ। आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले उक्त आदेश जारी गरेको हो।
सरकारी वकिलले दुवैलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागे पनि अदालतले प्रारम्भिक रूपमा ५ दिन मात्र म्याद थप गरेको हो। सरकारी वकिल दिपक कुमार श्रेष्ठ का अनुसार यस अवधिमा थप प्रमाण संकलन र अनुसन्धान गरिनेछ।
उक्त मुद्दा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित छ। सो आन्दोलनका क्रममा भएको कथित दमनबारे छानबिन गर्न गठित आयोगले ओली र लेखकविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो। आन्दोलनका बेला ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री पदमा रहेका थिए।
आयोगको सिफारिसपछि अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो। सोही आधारमा शनिबार बिहान दुवै नेतालाई नियन्त्रणमा लिइएको हो।
आइतबार अदालतमा पेश गरिँदा लेखक स्वयं उपस्थित भएका थिए भने ओली स्वास्थ्य समस्याका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट भर्चुअल माध्यममार्फत इजलासमा सहभागी भएका थिए। अदालतको आदेशसँगै अब घटनाबारे थप अनुसन्धान अघि बढाइनेछ।