मधेश प्रदेशमा आम्दानी घट्यो, बजेट कार्यान्वयनमा संकट

जनकपुरधाम । मधेश प्रदेशमा चालु आर्थिक वर्षमा अपेक्षित आम्दानी नभएपछि बजेट कार्यान्वयन प्रभावित हुने र वित्तीय संकटतर्फ उन्मुख भएको छ ।

आम्दानीमा आएको कमीका कारण योजना कार्यान्वयनमा समस्या आउन सक्ने र वित्तीय संकट उत्पन्न हुने अवस्था देखिएको  हो । जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महेश यादवले चालु आर्थिक वर्षमा १० अर्ब ३८ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिए पनि हालसम्म मात्र ४ अर्ब २५ करोड रुपैयाँ मात्रै संकलन भएको जानकारी दिए। अन्य शीर्षकहरूमा पनि आम्दानी लक्ष्यअनुसार हुन नसकेको उनले बताए।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको कुल बजेट आकार ४६ अर्ब ९८ करोड रुपैयाँ रहेको छ। तर, सोअनुसारको राजस्व तथा स्रोत प्राप्ति हुने अवस्था नरहेको र ३० अर्ब रुपैयाँभन्दा बढी बजेट जुटाउन कठिन देखिएको उल्लेख गरिएको छ। यस अनुसार प्रदेशको बजेट करिब १७ अर्ब रुपैयाँ घाटामा जाने अनुमान गरिएको छ।

अर्थमन्त्री यादवले स्वीकृत अधिकांश कार्यक्रम तथा विकास निर्माणका योजनाहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसक्ने अवस्था रहेको बताए। उनले प्रदेश सरकार वित्तीय संकटतर्फ उन्मुख रहेको पनि संकेत गरे। हालसम्मको खर्च विवरणअनुसार मधेश प्रदेशमा पूँजीगत खर्च केवल ८ प्रतिशत र चालू खर्च २४ प्रतिशत मात्रै भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, नेपाल सरकारद्वारा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा मधेश प्रदेश अन्य प्रदेशहरूको तुलनामा पछाडि परेको सार्वजनिक भएको छ। साथै, अन्य प्रदेशहरूको तुलनामा मधेशले कम वित्तीय स्रोत प्राप्त गरिरहेको पनि जनाइएको छ। अर्थमन्त्री यादवले वित्तीय समानीकरण अनुदान वितरणमा भइरहेको विभेदपूर्ण नीतिगत व्यवस्था हटाउनुपर्ने माग पनि गरेका छन्।

यसैबीच, अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले मन्त्रालयबाट कुनै पनि किसिमको बजेट दुरुपयोग नभएको स्पष्ट पारे।

Author:



क्याटोगरी छान्‍नुहोस