अचेत भएका सशस्त्र प्रहरी हवल्दारको मृत्यु

राजविराज । सप्तरीमा कार्यरत एक सशस्त्र प्रहरी हवल्दारको लडेर गम्भीर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको छ। बोदे बर्साईन नगरपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपालको फोर्वार्ड अपरेटिङ बेसमा कार्यरत बारा पचरौटा नगरपालिका–८ निवासी ३८ वर्षीय जितेन्द्र कुमार यादवको ज्यान गएको हो।

आइतबार राति करिब साढे ३ बजेतिर शौचालय जाने क्रममा ब्यारेकको प्यासेजमा लडेर उनी अचेत अवस्थामा फेला परेका थिए। घटनालगत्तै सहकर्मीहरूले उनलाई उद्धार गरी बोदे बर्साईनस्थित जीवन ज्योति अस्पताल पुर्‍याएका थिए।

उक्त अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल रिफर गरिएको थियो। तर उपचारकै क्रममा सोमबार बिहान ४ बजेर २५ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनाबारे सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण मुख्यालय सप्तरीले पुष्टि गरेको छ। प्रारम्भिक रूपमा लडेर टाउकोमा गम्भीर चोट लागेको आशंका गरिएको छ भने मृत्युको यथार्थ कारण खुल्न बाँकी रहेको बताइएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस