सुनसरी घटनामा शान्तिपूर्ण समाधानका लागि सबै पक्षलाई उपराष्ट्रपतिको अपिल

काठमाडौं, १३ साउन । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सुनसरीसहित विभिन्न जिल्लामा हालै भएका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

बुधबार जारी अपिलमा उपराष्ट्रपति यादवले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गरेका छन्।

नेपालको विविधताबीचको एकता, सहिष्णुता, भाइचारा र सामाजिक सद्भाव साझा सम्पत्ति भएको उल्लेख गर्दै उपराष्ट्रपतिले आवेग, हिंसा र मुठभेडबाट टाढा रहन सबै नागरिकसँग अपिल गरेका छन्। कुनै पनि समस्याको समाधान शान्तिपूर्ण संवादबाट मात्रै सम्भव हुने उल्लेख गर्दै उनले आफ्ना माग र विचार संयमित ढंगले राख्न आग्रह गरेका छन्।

उपराष्ट्रपति यादवले स्थानीय प्रशासन, धार्मिक अगुवा र नागरिक समाजलाई आपसी समन्वयमार्फत विश्वासको वातावरण निर्माण गर्न पनि आह्वान गरेका छन्। संवेदनशील अवस्थामा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, अफवाह र घृणास्पद अभिव्यक्तिप्रति सचेत रहन आग्रह गर्दै सञ्चारमाध्यमलाई तथ्यपरक र जिम्मेवार ढंगले समाचार सम्प्रेषण गर्न अनुरोध गरेका छन्।

राष्ट्रिय एकता र सामाजिक सद्भावको संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपालीलाई अग्रसर हुन आह्वान गरेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस