जनकपुरधाम । नेपाली, मैथिली हिन्दी र अङ्ग्रेजी साहित्यका मुर्धन्य व्यक्तित्व डा. राजेन्द्र विमलको मङ्गलबार बिहान निधन भएको छ ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उचारको क्रममा निधन भएको हो । उनको जन्म सन् १९४७ मार्च २६ देवीचोक, जनकपुरधाम–१० मा भएको थियो । विद्यावारिधीसम्मको अध्ययन गरेका उनको १२ वर्षको उमेरमा पहिलो लघुकथा ’आर्यावर्त’ हिन्दी दैनिकमा प्रकाशित भएको थियो । १५ वर्षको उमेरमा आर्यावर्तमै प्रकाशित ’कचनार के पेंड’ कथा निकै लोकप्रिय भएको थियो ।
सोही वर्ष मिथिला मिहीर (मैथिली मासिक)मा ’मुईल बच्चा’ कथा प्रकाशित भएको थियो । एसएलसी परीक्षापछिको फुर्सदको समयमा उनले ’चान अहाँ उदास छी’ उपन्यास लेखेका थिए । सन् १९६६ पछि उनी गोरखापत्र, पञ्चवाणी, बैदेहीलगायतका पत्रपत्रिकामा लेख्न थालेका थिए । उनको राजेन्द्र विमलका कथाहरू (कथासङ्ग्रह), जस अन्तर्गतको वन्धनबाट मुक्ति कथा कक्षा ९ को अनिवार्य नेपाली विषयमा समावेश छन् । ृनवनीत नेपाल परिचये (परिचय, वि.सं. २०४४) प्रकाशित छ । विमलको ’लङ्का दहन’ कथा स्नातक तहको अनिवार्य नेपाली विषयको पाठ्यक्रममा समावेश गरिएको छ ।
समयका आँखा, ‘ई हमरे कथा थिक’, ‘इतिहासक घाओ’, ‘बौआक पोथी’ र ‘सुरुज उगवासँ पहिने’ सहित उनका थुप्रै पुस्तकहरु प्रकाशित छन् । नेपाल विद्यापति भाषा–साहित्य पुरस्कारसहित गरिमा, जगदम्बाश्री सम्मान, राष्ट्रिय प्रतिभा र सिद्धी श्री सहित पुरस्कार एवम् सम्मान प्राप्त गरेका छन् ।
उनी जनकपुरधाम स्थित राराब क्याम्पसमा प्राध्यापन पेशाबाट अवकास भएपश्चात साहित्य साधनमा सक्रिय रहँदैआएका थिए ।