काठमाडौँ, २७ भदौ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले एसिसी प्रिमियर कपको उपाधि जित्दै सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा स्थान सुरक्षित गरेको छ ।
मलेसियामा आज भएको तेस्रो संस्करणको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ४४ रनले पराजित गर्दै दोस्रोपटक प्रतियोगिताको उपाधि जितेको हो । यससँगै नेपाल दोस्रोपटक एसिया कपमा छनोट भएको छ । नेपाल यसअघि सन् २०२३ मा युएईलाई पराजित गर्दै एसिया कपमा पुगेको थियो ।
क्वालालाम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३१३ रन बनाएको थियो । नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्काको मद्दतले १०२ रन बनाए । गुलशन झाले ३८ बलमा चार छक्का र तीन चौकासहित ५२ रन जोडे । अर्जुन कुमालले ४३ तथा रोहितकुमार पौडेलले ४० रन बनाए ।
नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएई ४९.१ ओभरमा २६९ रनमै अलआउट भयो । युएईका राहुल चोपडाले १०५ बलमा तीन चौका र चार छक्कासहित अविजित १०० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।
नेपालका करण केसीले तीन तथा ललितनारायण राजवंशीले दुई विकेट लिए । कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र गुलशन झाले समान एक विकेट लिए ।