नापीले गरे हुलाकको भवन कब्जा

राजविराज, २४ भदौ । नापी कार्यालय सप्तरीले जिल्ला हुलाक कार्यालयको भवन कब्जामा लिएको खुलेको छ । सहमति विनै एक वर्षदेखि प्रयोग गर्दै आएको भवन खाली गर्न हुलाकले पटक पटक पत्राचार गर्दा समेत नापीले वेवास्ता गर्दै आएको पाइएपछि सो कुरा बाहिरिएको हो ।

साबिक राजविराज–१ तथा हाल वडा नम्बर ६ स्थित २ कठ्ठा १० धुर जग्गा २८ माघ, २०३८ सालमै जिल्ला हुलाक कार्यालय (साबिकका हुलाक केन्द्र अफिस)को नाममा कायम भएको थियो । सो जग्गामा हुलाकको भवन निर्माण भई विगतमा कामकाज हुँदैआएका थिए ।

तर, पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालयलाई भवन अभाव भएपछि हुलाकको सो भवन (पुरानो प्रशासन कार्यालयको नागरिकता फाँट) प्रशासन कार्यालयलाई प्रदान गरिएको थियो । गतवर्ष जिल्ला प्रशासन कार्यालय आफ्नै नवनिर्मित भवनमा सारेपछि अनुमति बिना नै हुलाकको सो भवनमा नापी टोली कार्यालय सरेको हो ।

खाली रहेको सरकारी भवनमा नियमपूर्वक अर्को सरकारी कार्यालय सञ्चालन गर्न सकिन्छ । तर, हुलाक सेवा विभागले सो भवन आफ्नै प्रयोजनकालागि आवश्यक भएको बताईरहेको अवस्थामा सहमति बिना नै नापी टोली कार्यालय सञ्चालन हुनु भनेको गैरकानूनी रहेको हुलाक कार्यालयका निमित्त प्रमुख नारायण यादवले बताए ।

उनका अनुसार नापी टोली कार्यालयले अहिले हुलाककै जग्गा भवन क्षेत्रमा पसलसमेत सञ्चालन गरिदिएको छ । ‘हामीले जिल्ला प्रशासन कार्यालय मार्फत उक्त भवन हुलाकलाई आफ्नै प्रयोजनकालागि आवश्यक भएकोले खाली गराई दिन पटक–पटक पत्राचार गरे’ उनले भने ‘पछिल्लो पटक गत चैत्र २४ मा पत्राचार गर्दै उक्त भवन आफ्नै कार्यालय प्रयोजनकालागि आवश्यक भएको र भवन मर्मत सम्भारको काम गर्नुपर्ने भएकोले खाली गराईदिन ताकेता गरेपनि नापीले कुनै जवाफ दिएको छैन् ।’

उनले अहिले सञ्चालन रहेको जिल्ला हुलाक कार्यालय अगाडीको संरचना सडकमा परेकोले क्षेत्र साँघुरिएको र थप भवन पनि आवश्यक रहेकोले आफ्नै पुरानो भवनमा शाखा विस्तार गर्ने योजना रहेको बताए । ‘तर, जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँट खाली हुनासाथ एकाएक अनुमति बिना नापी टोली आएर बस्यो, यो सरासर गैरकानूनी हो ।’, हुलाक कार्यालयका निमित्त प्रमुख यादवले भने ‘जिल्ला हुलाक कार्यालय सप्तरीको दायरा अहिले फराकिलो भएको छ । चिठ्ठीपत्र रजिष्टरी, नियमित डाँक, हुलाक टिकटसँगै अब बचत बैंक पनि सञ्चालनमा छन् ।’

यसबाहेक गतवर्षदेखि सञ्चार मन्त्रालय मातहतको मिडिया सम्बन्धी सम्पूर्ण कामको जिम्मेवारी पनि हुलाकलाई नै प्रदान गरिएको उनको कथन छ । ‘अहिले हामीलाई मिडिया शाखा नै सञ्चालन गर्नुपर्ने आवश्यकता छ’, उनले भने ‘मन्त्रालयले गतवर्षदेखि नै सञ्चारमाध्यमहरुको दर्ता, नवीकरण, अनुगमन, रातो परिचय–पत्र वितरण तथा लोक कल्याणकारी विज्ञापन वापतको रकम भुक्तानीको जिम्मेवारी पनि प्रदान गरेको छ, यो सब कामका लागि छुट्टै शाखा सञ्चालन गर्न भवन अभाव रहेको अवस्थामा नापीले अनुमति बिना हुलाकको भवन कब्जा गरेको छ ।’

उनले हुलाकको स्वामित्वमा रहेको सो भवन खाली गराईदिन हुन प्रमुख जिल्ला अधिकारीसँग पनि आग्रह गरे ।

उता, नापी कार्यालयका प्रमुख सत्रुध्नप्रसाद यादवले आफुहरु सर्नुअघि प्रमुख जिल्ला अधिकारीबाट अनुमति पाएरै सरेको बताए । ‘हाम्रो कार्य क्षेत्र फराकिलो छ र सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । सेवाग्राहीलाई सहजता होस् भन्ने उद्देश्यले त्यतिबेला सिडिओ सा’बसँग अनुमति लिएरै सरेका हौं’ उनले भने, ‘हुलाकको कार्य क्षेत्र कति नै छ? त्यो पनि बुझ्नुपर्ने विषय हो, यद्यपी हुलाकलाई आवश्यकता छ भने हामी छाड्न तयार छौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस