राजविराज, ८ असोज । सप्तरीमा आयोजना गरिएको एक कार्यक्रमका वक्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमविरुद्ध कडा आन्दोलन हुनुपर्नेमा जोड दिएका छन् ।
जनता समाजवादी समाजवादी पार्टी (जसपा) नेपाल,सप्तरीले आयोजना गरेको अन्तरक्रियाका वक्ताहरुले राष्ट्रपतिले राजिनामा नदिएसम्मै आन्दोलन हुनुपर्ने बताएका हुन् । नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले दुवै संसदबाट दुई–दुई पटक पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको घोर उल्लंघन गरेको बताए ।
‘विधि र प्रक्रियाअनुसार सिफारिस भएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानप्रति ठेस पुर्याएकी छिन्’ उनले भने, ‘राष्ट्रपति समग्र देशको हुन सकेन्, एमाले पार्टीको मात्र राष्ट्रपति बनिन् ।’
उनले राष्ट्रपति भण्डारीको पछिल्लो कदमले मधेशी जनता नेपाली नागरिक होइन भन्ने भान गराएको बताए । ‘भारतीयलाई नागरिकता दिन विधेयक ल्याएको भन्ने भ्रमित कुरामा कुनै सत्यता छैन’ उनले भने, ‘विधेयक पास नहुँदा पनि भारतीय बुहारीहरुलाई नागरिकता दिने पहिलेदेखि नै चलिआएको परम्परा हो । नागरिकता विधेयकको विरोध गर्ने संविधान विरोधी हुन् ।’
जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय शिक्षक मञ्चका केन्द्रिय सदस्य सुवास साह, समाजवादी शिक्षक संघका केन्द्रिय सदस्य शंकर यादव, व्यापारी उमेश प्रसाद यादव लगायतले राष्ट्रपतिविरुद्ध सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
सोही अन्तरक्रियामा जसपा सप्तरीले १० दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जसअनुसार असोज ११ गते सदरमुकाम राजविराजमा प्रदर्शन सहित राष्ट्रपतिको पुत्ला दहन, १३ गते जनप्रतिनिधि, पार्टी नेताहरुसँग अन्तरक्रिया, १५, १६ र १७ गते गाउँटोलमा राष्ट्रपतिको गैर संवैधानिक कदमविरुद्ध जानकारी गराइने बताइएको छ ।