अन्य उम्मेदवारहरु हारको त्रासले अर्नगल प्रचारबाजी गर्दैछन् : जसपा

राजविराज, २८ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिषकुमार सुमनले निर्वाचनमा हारको त्रासका कारण प्रतिस्पर्धीहरुले अर्नगल प्रचारबाजी गर्दै हिँडेको बताएका छन् ।

सोमवार राजविराजमा पत्रकार सम्मेलन गर्दै उनले जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव चुनावी प्रतिस्पर्धामा रहेको सप्तरी निर्वाचन क्षेत्र नम्वर २ का अन्य उम्मेदवारहरुमा हारको त्रास देखिएको बताए ।

‘अहिले सामाजिक सञ्जालहरुमा निर्वाचन आचार संघिता विपरित हामीलाई लक्षित गरेर अर्नगल प्रचारहरु भइरहेको छ’ उनले भने, ‘विजयी हुन लागेको उम्मेदवारमाथि संगठित भएर कुप्रचार गर्नु गलत हो । निर्वाचनमा हारलाई पनि स्वीकार गर्नुपदर्छ ।’

जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले भ्रामक प्रचार गरेको भन्दै उनले सो विषयमा पनि आफ्नो पार्टी र प्रशासनले खण्डन गरिसकेको स्पष्ट गरे ।

‘अस्ती जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले स्पष्ट रुपमा एउटा भिडियो सार्वजनिक गर्दै यहाँका प्रशासनले जसपाको पैसा बोक्छ भन्ने भ्रामक प्रचार गर्नुभयो’ उनले भने, ‘केही दिनअघि मात्रै एउटा धार्मिक समूहले धर्मकै नाममा हामीमाथि कुप्रचार गर्नुभयो । सबैलाई थाहा छ, जसपा समाजवाद स्थापना गर्ने, अल्पसंख्यक समुदायको हितमा बोल्ने पार्टी हो । ’

त्यस्तै, यस क्षेत्रमा विकासको मुल फुटाउने र समानुपातिक समावेशीताको लागि लडिआउने एउटा सैद्धान्तिक पार्टी रहेको प्रवक्ता सुमनले बताए । ‘हामी अस्वस्थ प्रतिस्पर्धामाथि विश्वास पनि राख्दैनौं, त्यस्ता अस्वस्थ प्रतिस्पर्धा गर्न पनि चाह्दैनौं’ उनले भने, ‘जात–पात र धर्म यी सबैभन्दा माथि उठेर हामी आसन्न निर्वाचनलाई एउटा स्वस्थ निर्वाचनको रुपमा सम्पन्न गर्न उत्प्रेरित छौं ।’

उनले अन्य उम्मेदवारलाई पनि त्यसरी नै स्वस्थ रुपमा चुनावी प्रचार गर्न आग्रह गरे । ‘प्रशासनलाई पनि स्वच्छ निर्वाचन गराउनमा सहयोग पुर्याउन आग्रह छ’, उनले भने, ‘अस्वस्थ प्रतिस्पर्धामा लागेका र धर्मका नाममा उन्मात फैलाउनेलाई कारवाहीको दायरामा ल्याउन पनि प्रशासनलाई आग्रह गर्दछु ।’

Author:



क्याटोगरी छान्‍नुहोस