उपमेयर नै भारतीय प्रकरण : ७ महिनादेखि गृहमै अड्कियो छानबिन

राजविराज, ३० फागुन । कीर्ते गरी नेपाली नागरिकता लिएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उप–मेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादवविरुद्ध उजुरी परेको ७ महिना भइसक्दा पनि छानबिन प्रक्रिया अघि बढ्न सकेको छैन् ।

गत साउनको दोस्रो साता जिल्ला प्रशासन कार्यालय सप्तरीमा उनीहरुविरुद्ध उजुरी परेको थियो । उप–मेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्य अन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी रहेको भन्दै उजुरीमा दावी गरिएको छ ।

विधानसभा निर्वाचन क्षेत्र विहार निर्वाचक नामावली भाग सं.५१ अनुसार श्रीमान् श्रीमाति दुवै भारतीय मुलका स्थायी नागरिक रहेता पनि झुठो विवरणको आधारमा नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख गरिएको छ । ‘नेपाल देशमा मीरा, महेन्द्र र यी दुवैका छोरा इन्द्रजीतले साविकको सप्तरीको औरही गाविस वडा नम्बर–३ (हाल डाक्नेश्वरी नगरपालिका ६) बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाण पत्र लिई मिरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशिल न्यायिक समितिको संयोजक पदमा बसी पदिय दायित्व दुरुपयोग गरिरहेकी छन्’, उजुरीमा भनिएको छ ।

मीरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशील न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेकाले नागरिकता ऐन, २०६३ को दफा नम्बर १२ बमोजिम मीरा, उहाँका पति महेन्द्र र छोरा इन्द्रजीतको नागरिकता प्रमाण पत्र रद्द गरी सोही ऐनको दफा २१ बमोजिम हदैसम्म सजाय गर्न उजुरीमार्फत माग गरिएको छ ।

भारतको निर्वाचन नामावली २०२२ मा बिहारको क्रम संख्या ६३२ मा महेन्द्रको र ६३३ मा मीराको नाम छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेश गरेको शपथ–पत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उहाँहरू भारतीय रहेको प्रमाण उजुरीमा संलग्न राखिएको छ । उजुरीकर्ताले नाम गोप्य राखि दर्ता गराएको सो उजुरी गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय, सप्तरी, डाक्नेश्वरी नगरपालिका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई बोधार्थ गरिएको थियो ।

उजुरीसँगै आरोपीहरुसँग बयान र सोधपुछ कार्य सकिएको छ भने उजुरीमा संलग्न राखिएको ‘भारतीय भोटर आइडी’ लगायतका कागजातको वास्तविकताबारे छानबिनका लागि गृह मन्त्रालयमार्फत भारतबाट आवश्यक कागजात झिकाउने प्रक्रिया अघि बढाइएको थियो । तर, सात महिना भइसक्दा पनि गृह मन्त्रालयले सो प्रक्रिया अघि बढाउन सकेको छैन् ।

यता, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले गृहबाट आवश्यक कागजात प्राप्त भएसँगै थप कानूनी प्रक्रिया अघि बढाइने बताए । ‘हामी पुष्टिगत आवश्यक कागजातको पर्खाइमा छौं, सो कागजात प्राप्त भएसँगै कानूनअनुसार अघि बढ्छौं,’ उनले भने ।

आरोपीको नाममा रहेको जग्गा धमाधम बिक्री हुँदै

उजुरीपछि छानबिन सुरु हुनासाथ उप–मेयरका पति महेन्द्रले आफ्ना नाममा रहेका जग्गाहरु धमाधम बिक्री गरिरहेका छन् । महेन्द्रले लगातार दुई दिनमै सप्तरी र सुनसरीमा रहेको ७ वटा कित्ता जग्गा बिक्री गरिसकेका छन् ।

महेन्द्रको नाममा रहेको सप्तरीको पातोस्थित कित्ता नम्वर १(ख)को १६२७ र सुनसरीको भोक्राहास्थित ६ (क) को ८३२, ८३४, ९५५, १११ र १३६९ तथा ८ (ग) को २७६ को जग्गा बिक्री भएको छ । कित्ता नम्वर १६२७, १११, ८३२ र ८३४ को जग्गा गत साउन ३० गते विक्री गरेको छ भने कित्ता नम्वर ९५५,२७६ र १३६९ को जग्गा गत भदौ १ गते बिक्री गरेको भूमि सुधार तथा मालपोत कार्यालयको तथ्यांकले देखाएको छ । जसअनुसार सुनसरीको भोक्राहामा मात्रै उहाँका नाममा रहेको २ विघा र पातोमा रहेको ६ धुर जग्गा बिक्री भएको हो ।

उप–मेयर मीराले सो आरोपहरु निराधार रहेको र आफु नेपाली नागरिक रहेको दावी गर्दै आएकी छन् छ भने महेन्द्रले यसअघि चुनावको बेला भएको ऋण फछ्र्यौट गर्न ती जग्गाहरु बिक्री गरेको बताए । ‘ऋण फछ्र्यौट गर्नुपर्ने बाध्यता थियो, त्यसैले ती जग्गाहरु विक्री गर्नुपर्यो ।’, उनले भने ।

गृह मन्त्रालयका सूचना अधिकारी (उप–सचिव) दिलकुमार तामाङले सो विषयमा आवश्यक बुझेर प्रतिक्रिया दिने बताए । ‘अहिले म एउटा आवश्यक काममा व्यस्त छु, यस विषयमा बुझेर ‘कल ब्याक’ गरौंला ।’ उनले भने । पछि फेरी फोन गर्दा पनि उनले सोही कुरा दोहोर्याए । आजको नेपाल समाचारपत्रमा विद्यानन्द रामले लेखेको खबर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस