राजविराज । हरवाचरवाले राजविराज र वीरगन्जबाट एकसाथ अधिकार यात्रा सुरु गरेका छन् । मुक्ति घोषणा भएको नौ महिनासम्म पनि कागजमै सीमित भएपछि उनीहरूले पुनर्स्थापना माग गर्दै आजबाट मधेस प्रदेशमा पाँचदिने अधिकार यात्रा सुरु गरेका हुन् ।
गत साउन २ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा बँधुवा श्रम प्रथाका रूपमा रहेको हरवाचरवा प्रथा मुक्ति भएको घोषणा गरेका थिए । सप्तरीको सदरमुकाम राजविराजबाट राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको अगुवाइमा अधिकार यात्रा सुरु गरिएको मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले जानकारी दिए । वीरगन्ज र राजविराजबाट एकसाथ सुरु भएको अधिकार यात्रामा करिब आठ हजार हरवाचरवाको सहभागिता हुने मण्डलले बताए ।
दास प्रथाबाट मुक्त हुन राजविराजदेखि थाल्ने अधिकार यात्रा हिँड्दै–हिँड्दै जनकपुर पुगेर समापन गर्नेछौँ,’ मञ्चका अध्यक्ष मण्डलले भने, ‘नौ महिनाअघि प्रधानमन्त्रीले हरवाचरवालाई कागजमा मुक्ति त दिलाउनुभयो, तर हाम्रा दुःख, पीडा र स्थिति उस्तै छन् ।’
६ बुँदे मागसहित हरवाचरवा अधिकार यात्रामा उत्रिएका हुन् । पुनर्स्थापनाका लागि विस्तृत कार्ययोजना र कार्यविधि सम्बन्धित मन्त्रिपरिषद्बाट अविलम्ब पारित गरी आफ्नो जीविकाका लागि कम्तीमा १० कट्ठा जमिन प्रदान गरिनुपर्ने उनीहरूको प्रमुख माग छ ।
त्यसपछि उनीहरूले वैकल्पिक रोजगारीमा लाग्न इच्छुक रोजगारविहीनलाई तीन महिना, ६ महिना र सोभन्दा लामो दीर्घकालीन प्रकारको सीपको तालिम, एक लाखको बिउपुँजी र आवश्यक औजार प्रदान गरिनुपर्ने, नेपालमा हरवाचरवाभन्दा गरिब र भूमिहीन अरू कोही नभएकाले सडक, बिजुली, शुद्ध खानेपानी, विद्यालय, स्वास्थ्य चौकी र सिँचाइजस्ता न्यूनतम भौतिक पूर्वाधारसहित एकीकृत प्याकेजसहितको बहुआयामिक गरिबी निवारण कार्यक्रम हरवाचरवाको बस्तीमा अविलम्ब थालिनुपर्ने माग राखेका छन् ।