काठमाडौं, असार ३१ – घुस मागेको अडियो सार्वजनिक भएपछि चर्को विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बालुवाटार पुगेर गुप्ताले आफ्नो राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा दिएलगत्तै गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, “बिगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँग जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भए।”
गुप्ताले आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले नै राजीनामा दिएको दाबी गरेका छन्। “अब लागेका आरोप अनुसन्धान गरेर सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा दिएको छु,” उनले स्पष्ट पारेका छन्।
उनले आफू प्रविधिको दुरुपयोगको शिकार भएको आरोपसमेत लगाएका छन्। “प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरू कोही पनि नबुन् भन्ने अपेक्षा गर्दै, आजसम्म विभिन्न रूपमा आफुलाई सहयोग गर्नुहुनेहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,” फेसबुक पोस्टमार्फत उनले लेखेका छन्।
मन्त्री गुप्ताको नाम कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुखको सरुवा रोक्ने र भूमि समस्या समाधान आयोग कास्कीका अध्यक्ष नियुक्ति गरिदिने सन्दर्भमा ७८ लाख रुपैयाँ घुस मागेको अडियोसँग जोडिएको छ। उक्त अडियो सार्वजनिक भएपछि उनी चौतर्फी आलोचनाको सामना गरिरहेका थिए।
सत्तारुढ दलभित्रैबाट समेत बढ्दो दबाबपछि उनले राजीनामा दिएका हुन्। अब यो प्रकरणमा औपचारिक छानबिन अघि बढ्ने संकेत देखिएको छ।
गुप्ताले पार्टीले दिएको जिम्मेवारीमा अझ निष्ठा र इमानदारीका साथ फर्किने बताउँदै जनताको घर–दैलोमा पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।