
लक्ष्मी रिजाल
सिरहाको लहान नगर आजभोलि कविता र चेतनाले झंकृत हुँदैछ । असार २९ गते, आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवसरमा प्रगतिशील लेखक संघ, सिरहा शाखाद्वारा आयोजित खुला कविता प्रतियोगिता लहान नगरपालिकाको सभाहलमा भव्य र सजीव साहित्यिक उत्सवमा रूपान्तरण भयो । तीन घण्टा लामो कार्यक्रम केवल औपचारिकतामा सीमित रहेन, त्यो एक प्रकारको भाषिक सांस्कृतिक पुनर्जागरण बन्यो । साहित्य, सामाजिक चेतना र सिर्जनात्मक ऊर्जा एकै ठाउँमा मिसिएर बहुआयामिक भावभूमिमा फक्रिएको त्यो उत्सव लहानको साहित्यिक इतिहासमा एक नवीन अध्यायको रूपमा लेखियो ।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष भैरव गेलालले गरेका थिए भने प्रमुख अतिथि नन्दलाल आचार्यले कार्यक्रमको उद्घाटन गर्दै आदिकवि भानुभक्तलाई “भाषिक आदिवासी” को संज्ञा दिएका थिए । उनले भानुभक्तको योगदानलाई केवल रामायण अनुवादमा सीमित नगरी भाषिक जागरणका अभियन्ताको रूपमा मूल्याङ्कन गर्न आह्वान गरे । उद्घोषक समर भण्डारीको लयात्मक तथा भावनात्मक शैलीले सभाहललाई कविता-मण्डप बनायो । उनका स्वरका आरोह-अवरोहमा शब्दहरू झङ्कृत हुन्थे, सहभागीहरू मन्त्रमुग्ध ।
कार्यक्रमको मूल केन्द्रमा रहेको खुला कविता प्रतियोगितामा सिरहा, सप्तरी, धनुषा लगायतका जिल्लाबाट आएका स्रष्टाहरूले सहभागिता जनाए । सहभागी कविहरूमध्ये सृष्टि साह, सन्तोषी यादव, जीवन यादव, शिवशंकर यादव, मौसम कुमारी साह, महेश सिंह, तिलक थापा, टुने बहादुर राउत, रुपेश सदाय, हरिनाथ यादव आदिले विविध शैली र स्वरमा कविता वाचन गरे । उनीहरूले प्रस्तुत गरेका कविताहरूमा सामाजिक अन्यायको प्रतिवाद, भाषिक पहिचानको खोजी, सांस्कृतिक जरा र प्रेमका अनुभूतिहरूको समिश्रण पाइन्थ्यो।
कार्यक्रमका निर्णायक मण्डलमा थिए- अर्जुन प्रसाद गुप्ता ‘दर्दिला’, जिवछ उदासी र सन्जिता भट्टराई । उनीहरूले मूल्याङ्कनका लागि विषयवस्तु, प्रस्तुतीकरण, भाषिक प्रयोग, भावनात्मक गहिराइ आदि पक्षलाई मुख्य मापदण्ड माने । प्रतियोगितामा टुने बहादुर राउत प्रथम घोषित भए, जसले सामाजिक न्याय र भाषिक चेतनाको पक्ष उजागर गर्ने कविता सुनाए ।
उनले रु ५,०००/- नगद र प्रमाणपत्र प्राप्त गरे । तिलक थापा दोस्रो भए। ग्रामीण यथार्थ र आधुनिक प्रतीकको संयोजनबाट प्रभावित बनाउने उनको कविताले रु ३,०००/- जित्यो । तेस्रो स्थानमा रुपेश सदाय रहे, जसले मैथिली संस्कृतिको रंगीन चित्रण गरे । उनले रु २,०००/- प्राप्त गरे । मौसम कुमारी साहलाई विशेष सान्त्वना पुरस्कार प्रदान गरियो। उनले युवतीको दृष्टिकोणबाट आत्माभिव्यक्तिपूर्ण कविता प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा प्रतियोगितासँगै साहित्यिक श्रद्धाञ्जली पनि अर्पण गरियो । नेपाली र मैथिली भाषामा भैरव गेलाल, नन्दलाल आचार्य, अर्जुन प्रसाद गुप्ता, जिवछ उदासी, सन्जिता भट्टराई, प्रेम न्यौपाने, समर भण्डारीलगायतका स्रष्टाहरूले कविता वाचन गरे । तिनका कवितामा भानुभक्तको आदर्श, भाषिक अधिकार, समावेशी चेतना, वर्गीय विभाजनको भण्डाफोर र सामाजिक न्यायको सवालहरू झल्किएका थिए ।
तीन घण्टासम्म चलेको कार्यक्रममा समय झैँ उडेन, बरु कविता र विचारको रसमा डुबेर बिस्तारै बगिरह्यो । करिब तीन दर्जन सहभागीहरूमा शिक्षक, विद्यार्थी, पत्रकार, साहित्यकार, युवा कवि र उत्साहित श्रोताको सहभागिता रहेको थियो । उनीहरूको अनुहारमा कविता सुनेको सन्तुष्टि थियो, हातमा मोबाइल थिएन, आत्मा मात्र थियो- शब्दको संगीतमा तैरिरहेको ।
प्रमुख अतिथि नन्दलाल आचार्यले भनेका थिए, “हामीले भानुभक्तलाई केवल रामकथा सुनाउने कवि होइन, भाषिक संघर्षको पहिलो मशालबाहकका रूपमा पनि पढ्नुपर्छ ।” उक्त भनाइले कार्यक्रममा एउटा वैचारिक गहिराइ थपेको थियो- भाषा र साहित्य केवल अतीतको गौरव होइन, वर्तमानको आन्दोलन पनि हो ।
यस कार्यक्रमले पुष्टि गर्यो कि कविता केवल वाचन वा लेखन मात्र होइन, शोषणको प्रतिवाद गर्ने माध्यम, नागरिक चेतनाको उद्घोष र सामाजिक यथार्थको कलात्मक प्रस्तुति हो। कविताले प्रश्न उठायो— भाषिक विभेद कहिलेसम्म? साहित्यको पहुँच के सबैसम्म पुगेको छ? हाम्रो समाजमा कविको भूमिका के हो? लहानमा सम्पन्न कविता प्रतियोगिता केवल एकदिनको कार्यक्रम थिएन, त्यो थियो मधेश र समग्र नेपालको साहित्यिक जागरणको सङ्केत। यसले पुष्टि गर्यो- “जहाँ भाषा र भावना जुर्छन्, त्यहाँ साहित्य जन्मिन्छ । जहाँ साहित्य जन्मिन्छ, त्यहाँ चेतनाको बीउ उम्रन्छ ।” कविता लेखिन्छ, सुनिन्छ, पढिन्छ तर त्यो बाँच्छ तब, जब समाज त्यसमा आफ्नै अनुहार देख्छ ।
लहानको कविता उत्सवले समाजको अनुहार देखाउने ऐना बन्न सफल भयो । भानुभक्तको सम्झनामा गरिएको यो श्रद्धाञ्जली, वास्तवमा वर्तमानका भाषिक र सामाजिक सवालहरूलाई कविता मार्फत उजागर गर्ने एउटा सफल प्रयास थियो।