सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित जिरोमाइल नजिकै पूर्व–पश्चिम लोकमार्गमा बिहीबार बिहान यात्रुबाहक बसबाट खस्दा सहचालकको मृत्यु भएको छ।
विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको ना.७ ख २६५ नम्बरको बसबाट खसेर गम्भीर घाइते भएका सहचालकको उपचारका क्रममा निधन भएको हो। लहान नगरपालिका–१ निवासी २१ वर्षीय पवन कुमार यादव बिहीबार बिहान करिब ११ बजे बसबाट अचानक खस्दा पछाडिको चक्काले किच्दा गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै प्रादेशिक अस्पताल लहान पुर्याइएको थियो, तर उपचारका क्रममा बिहान ११ः५५ बजे चिकित्सकले मृत घोषित गरेका छन्।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धनगढीबाट प्रहरी नायब निरीक्षक दिलीप कुमार सिंहको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले चालक बन्दीपुर नगरपालिका–३ खेरा निवासी ४० वर्षीय लक्ष्मी महतोलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ।
प्रहरीका अनुसार बसको ढोका राम्ररी बन्द नभएको वा सहचालकको सन्तुलन गुम्दा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। वास्तविक कारण पत्ता लगाउन इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक शिव कटेलको कमाण्डमा थप अनुसन्धान टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।