गजेन्द्रनारायण सिंह अस्पतालमा एचडीयू र एनआईसीयू सेवा पुनः सञ्चालन

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लामो समयदेखि अवरुद्ध रहेको ए र एनआईसीयू सेवा पुनः सञ्चालनमा आएको छ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. अवधेशकुमार मिश्रका अनुसार बुधबारदेखि दुवै सेवा नियमित रूपमा सुचारु गरिएको हो। अस्पतालमा करिब एक वर्षदेखि १२ शैय्याको एचडीयू र दुई महिनादेखि ४ शैय्याको एनआईसीयू सेवा ठप्प थियो।

आवश्यक व्यवस्थापन, जनशक्ति समन्वय र आन्तरिक तयारी पूरा गरेपछि सेवा पुनः सञ्चालन सम्भव भएको डा. मिश्रले जानकारी दिए। उनका अनुसार चिकित्सक, नर्सिङ स्वास्थ्यकर्मी, पारामेडिक्स तथा कर्मचारीहरूको सक्रिय सहयोग र समन्वयले सेवा पुनः सुचारु गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

पूर्ण रूपमा निःशुल्क रूपमा सञ्चालन भइरहेको एनआईसीयूमा सेवा सुरु भएकै दिन एक जना नवजात शिशु भर्ना भइसकेको अस्पतालले जनाएको छ। यसले जिल्लाका नवजात शिशु र गम्भीर अवस्थाका बिरामीहरूलाई स्थानीयस्तरमै उपचार पाउने अवसर बढाएको छ।

यसअघि गत कार्तिक २३ गते विद्युत सर्ट भएर एलईडी बत्ती खस्दा एक नवजात शिशु घाइते भएको घटनापछि आक्रोशित आफन्तले चिकित्सकमाथि हातपात गरेकाले एनआईसीयू सेवा बन्द भएको थियो। अहिले सेवा पुनः सञ्चालन भएसँगै अस्पतालको आपतकालीन र सघन उपचार क्षमतामा सुधार आएको जनाइएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस