नेपाल प्रहरीद्वारा निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु, माघ १ सम्म आवेदन

काठमाडौँ । नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना म्यादी निर्वाचन प्रहरी भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको हो ।

सूचनाअनुसार यही पुस २५ गतेदेखि माघ १ गतेसम्म देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत दरखास्त दिन सकिनेछ । आवेदन दिने उम्मेदवारको उमेर दरखास्तको अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिएअनुसार निर्वाचन प्रहरीका लागि नेपाली नागरिक, साधारण लेखपढ गर्न जान्ने, कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य तथा आतङ्ककारी वा विध्वंसात्मक सङ्गठनसँग सम्बन्ध नराखेका व्यक्ति योग्य हुनेछन् ।

नेपाल प्रहरीका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक तथा यसअघि प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक सेवा दिएका व्यक्तिलाई प्राथमिकता दिइनेछ । विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकलाई पनि छनोटमा समावेश गरिनेछ ।

भर्ना कार्यतालिकाअनुसार माघ ५ देखि ९ गतेसम्म प्रारम्भिक छनोट गरिनेछ भने अन्तिम नतिजा माघ १२ गते सार्वजनिक गरिनेछ । छनोट भएका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण दिइनेछ ।

निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिदेखि ४० दिनको हुनेछ । उनीहरूले नेपाल प्रहरी जवानको सुरु तलब स्केलअनुसार प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले कुल ३४ हजार ७७६ रुपैयाँ पारिश्रमिक पाउनेछन् । साथै खाद्यान्न, तयारी खर्च, खाजा खर्च र पोसाकबापतको रकमसमेत उपलब्ध गराइनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस