इन्जिनियर्स एसोसिएसन मधेशका पूर्व अध्यक्ष नन्दकिशोर जसपा नेपाल प्रवेश

काठमाडौं, २४ पौष । नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशका पूर्व अध्यक्ष इन्जिनियर नन्दकिशोर यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।

बिहीबार पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले उनलाई खादामाला लगाएर पार्टीमा स्वागत गरेका हुन्। धनुषा जिल्लाको सबैला नगरपालिका–६ निवासी इन्जिनियर यादव यसअघि नेपाली कम्युनिस्ट पार्टीमा सक्रिय रहँदै मधेस प्रदेश समिति सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात विभागको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्।

राजनीतिक, सामाजिक र पूर्वाधार विकासको क्षेत्रमा लामो अनुभव हासिल गरेका यादवको जसपा नेपाल प्रवेशलाई पार्टीले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले इन्जिनियर यादवको अनुभव, दक्षता र नेतृत्व क्षमताले मधेस प्रदेशमा जसपा नेपालको संगठन विस्तार र सुदृढीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

मधेशको विकास, सुशासन र समावेशी राजनीतिका सवालमा पार्टीले लिएको एजेन्डालाई अझ मजबुत बनाउन यादवको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो। पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका सहअध्यक्ष रकम चेम्जोङ, महासचिवद्वय लालबाबु राउत र रामकुमार शर्मा, कार्यकारिणी समिति सदस्य दीपक कार्की, हालै जसपा परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका रेणुकुमारी यादव र प्रदीप यादवलगायतको उल्लेखनीय उपस्थिति थियो।

Author:



क्याटोगरी छान्‍नुहोस